समाज परिवर्तनमा प्रियंका कार्कीको भूमिका।

काठमाडौं:= नेपाली समाजले महिला भन्नेबित्तिकै फरक तरिकाले हेर्ने गर्छ अर्थात् पुरुष सरह मान्न स्वीकार्य छैन । पुरुषले धन कमाउने र महिलाले घर धान्ने परम्परा पुस्तौंदेखि चल्दै आएको छ । त्यही परम्परा आजको २१ औं शताब्दीमा आइपुग्दा पनि परिवर्तन हुन सकेको छैन ।

विशेषगरी महिलाको महिनावारीको समयमा अझै पनि नेपाली समाजको कतिपय ठाउँमा घरबाट छुट्टै राख्ने अझै ‘गोठ’ मा राख्ने परम्परा पनि छ । विवाह गरेर गइसकेकी महिलालाई घरमा सधैं हेपिनुपर्ने, दाइजो नदिएको निहँुमा महिलाले दमन सहनुपर्ने अझै पनि नेपाली समाजमा छ । यसैबीच पछिल्लो समय विभिन्न महिलाहरूले समाज परिवर्तनका लागि आवाज उठाइरहेको देखिन्छ । विभिन्न संघसंस्थाले पनि महिला दमनको विषयमा आवाज उठाइरहेका छन् ।

यसैबीच विदेशमा जस्तै नेपालमा पनि सेलिब्रेटीहरूले बोलेका तथा गरेका क्रियाकलापले समाज परिवर्तनमा ठूलो भूमिका खेलेको छ । अहिले पछिल्लो समय नेपालमा लोकप्रिय नायिका प्रियंका कार्कीले आफू गर्भवती हुँदा गरेका क्रियाकलापले अप्रत्यक्षरूपमा भए पनि समाज परिवर्तनमा ठूलो भूमिका खेलेको छ । नायिका प्रियंकाले डेढ वर्षअघि नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्नुभएको हो । विशेषगरी सम्पन्न र शिक्षित प्रियंकाको परिवारले सामाजिक सञ्जालमा पनि खुलेर आफ्नो भनाइ राख्ने गर्नुभएको छ । नेपाली समाजको कतिपय ठाउँमा अझै पनि सासूसँग बुहारीले शिर उठाएर बोल्न सक्ने अवस्था छैन । तर, प्रियंकाको परिवारको हकमा एक साथी जसरी सासूसँगको सम्बन्ध देखिन्छ । यसले पनि समाजका केही परिवारमा पक्कै परिवर्तनको भूमिका खेलेको छ ।

यस्तै अहिले प्रियंकाले गर्भवती भएको अवस्थामा खुलेर जिउनुपर्छ । यसलाई उत्सवका रूपमा मनाउनुपर्छ भन्दै सामाजिक सञ्जालबाट दिइरहेको सन्देश तथा पोष्ट गरिएका तस्बिरलाई कतिपयले फरक तरिकाले टिकाटिप्पणी गरिरहेका छन् । उहाँले सामाजिक सञ्जालमा पोष्ट गरेका ‘बेबी बम्प’ का तस्बिरलाई धेरैले विवादित पनि बनाएका छन् ।

हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्बिरदेखि स्विमिङ कस्टुममा बेबी बम्प देखाउँदै खिचाएको तस्बिरसम्म उहाँका चर्चा र आलोचनाको विषय बने । तर, ती क्रियाकलापलाई सकारात्मक तरिकाले हेर्दा प्रियंकाले आफ्नो गर्भवतीको समयलाई खुलेर जिएको देखिन्छ । उहाँले आफ्नो गर्भवतीको समयलाई उत्सवका रूपमा मनाइरहनुभएको छ । प्रियंकाका यस्ता क्रियाकलापले उहाँलाई खुसी मिलेको छ । साथै उहाँको परिवारबाट यस्ता क्रियाकलापका लागि साथ भएकाले पनि उहाँको स्वास्थ्य अवस्था राम्रो छ ।

पछिल्लो समय नेपाली समाजमा पनि महिलाहरूले ‘बेबी बम्प’ का तस्बिर सेयर गर्ने तथा परिवारमा खुसी साट्ने गरेको देखिन्छ । सामाजिक सञ्जालमा त्यसरी खुसी साटेका विभिन्न क्रियाकलापका तस्बिर तथा भिडियोहरू सेयर गर्नुलाई परिवारबाट साथ र खुसी मिलेको बुझ्न सकिन्छ ।

प्रियंकाले सामाजिक सञ्जालमा गरेका गतिविधि उछ्शृंखल नभई खुसी व्यक्त गरेको बुझ्न सकिन्छ । नायिका प्रियंकाको समाज परिवर्तनमा पक्कै पनि थोरै धेरै भूमिका देखिन्छ ।