काठमाडौं:= स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारबाही हुने बताउनुभएको छ । उहाँले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा सिनेट बैठक बोलाएर छानविन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउन लागेको उहाँले बताउनुभयो ।
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानविन समिति गठन गर्नेछ । छानविन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ’, उहाँले भन्नुभयो ।
बैठकमा समितिका सदस्यहरूले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यनाकर्षण गराउनुभयो । उहाँले भ्रष्टहरूले स्वास्थ्य सेवा दिने संस्थाहरूमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
यस्तै समितिका अर्का सदस्य एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानविन गरी दोषीउपर तत्काल कारबाही गर्न आग्रह गर्नुभयो । बैठकमा समितिका सदस्यहरूले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन सरकारलाई सचेत गराएका थिए ।
तत्काल परीक्षा नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले कक्षा १२ सहित सबै परीक्षा तत्काल नगर्न सिसिएमसी (कोभिड-१९ संकट व्यवस्थापन केन्द्र) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सिसिएमसीमा पत्र पठाएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत कोभिड– १९ संक्रमण फैलदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु, लेख्नुभएको छ ।
कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ । यो वर्षको परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।




















