काठमाडौं:= सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको कप्तानी गर्नुहुने भएको छ । इपिएल काठमाडौंले सोमबार सामाजिक सञ्जालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो ।
टोलीले सन्दीप यसै सिजनका लागि अनुबन्ध गरेको हो । चौथो संस्करणको इपिएल आगामी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुनेछ । यसअघि तेस्रो संस्करणमा सन्दीप ललितपुर प्याट्रीयट्समा आबद्ध हुनुहुन्थ्यो । टोलीले उपाधिसमेत जितेको थियो । यसअघि टोलीका कप्तान सोमपाल कामी हुनुहुन्थ्यो । तर, सोमबार चितवन टाइगर्ससँग अनुबन्ध हुनुभएपछि उहाँको स्थानमा काठमाडौंले सन्दीपलाई आबद्ध गरेको हो ।
सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती दुई खेल खेल्नुभएको थियो । त्यसपछि बिग ब्यास लिगका कारण दुई खेलपछि अष्ट्रेलिया जानुभएको थियो । गत फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर ११ को कप्तानी गर्नुभएको थियो ।
सन्दीपले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्न लाग्नुभएको हो । यसअघि २०१८ मा पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गर्नुभएको थियो । सन्दीपले नेपाली यू-१९ टोलीको कप्तानीसमेत गरिसक्नुभएको छ ।
काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रूपमा पाकिस्तानका पूर्व-स्टार अलराउण्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रूपमा सार्वजनिक गरिसकेको छ । काठमाडौंमा सन्दीप लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी हुनुहुन्छ ।




















