एन्फा प्रवक्ता राईको राजीनामा।

काठमाडौं:= अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीबीचको विवादबीच नेम्बाङलाई साथ दिँदै राईले राजीनामा दिनुभएको हो ।

एन्फा कार्यसमितिले उक्त विवाद समाधानका लागि छानविनका लागि भन्दै युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरको थियो तर प्रवक्ता राईले भने एन्फाले नै आन्तरिक रूपमा विवाद समाधान गर्नुपर्ने भन्दै राजीनामा दिनुभएको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राईले फुटबल विवादमा तेस्रो पक्षलाई प्रवेश गराउन नहुने मत राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘प्रवक्ताको जिम्मेवारीमा रहँदै एन्फाले गरेका निर्णयको विरोध गर्न मिल्दैन । एन्फामा देखिएको विवाद समाधानका लागि सक्दो मिहिनेत गर्दा पनि सफल हुन सकेनौं । त्यसले यस कुरामा विमति राख्दै पदबाट अलग हुने निर्णय गरेको हुँ ।’

वरिष्ठ उपाध्यक्ष नेम्बाङको उपस्थितिमा राईले राजीनामा पत्र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बुझाउनुभएको थियो । एन्फा कम्प्लेक्समै आयोजित पत्रकार सम्मेलनमा राईले विवाद समाधानका लागि मन्त्रालयलाई जिम्मा दिनु ठिक नभएको जनाउनुभयो । आफू एन्फाभित्र कसैको पक्ष र विपक्षमा नभई फुटबलको पक्षमा रहेको उहाँले जनाउनुभयो ।

पछिल्लो समय एन्फामा विवाद चर्किएको छ । एन्फाले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधान गर्ने जिम्मा एन्फाले खेलकुद मन्त्रालयलाई दिएको छ । कार्यसमिति बैठकमा आपसी सहमति जुटाउन नसक्दा एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छानबिनका लागि अलग–अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि एन्फा केन्द्रीय समितिको आपत्कालीन बैठक बसेको थियो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठकमा अलमुतारीलाई कारबाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताउनुभएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्कनुभएको थियो । बैठकमा प्रशिक्षक अलमुताइरीलाई पनि आफ्नो कुरा राख्न दिइएको थियो ।

प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमार्फत अलमुताइरीले राजीनामा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दुःख दिएको उल्लेख गर्नुभएको थियो ।