काठमाडौं:= नेपाली क्रिकेट टोलीका पूर्व-कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार संन्यास घोषणा गर्नुभएको छ । सन २००२ मा १५ वर्षको उमेरबाट क्रिकेट यात्रा सुरु गर्नुभएका पारसले मंगलबार अन द फिल्डको यात्रामा पूर्णविराम दिनुभएको हो ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पारसले संन्यास घोषणा गर्नुभएको थियो । एउटा क्रिकेटरका रूपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको उहाँले बताउनुभएको छ ।
‘मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो । तर, यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छु,’ उहाँले भन्नुभएको छ, ‘इमानदारीसाथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउने छौँ ।’
उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफूले देखेको सपना अझै पनि बामे सर्दै गरेको बताउनुभएको छ । ‘मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल, मीठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने छौँ भन्ने विश्वास लिएको छु,’ उहाँले लेख्नुभएको छ ।
पारस खड्काले सन् २००९ देखि २०१९ सम्म १० वर्ष नेपाली क्रिकेट टोलीको कप्तानी गर्नुभएको थियो । अलराउण्डर भूमिकामा खेल्नुहुने उहाँ दायाँ हाते ब्याट्सम्यान र बायाँ हाते बलर हुनुहुन्थ्यो । मलेसियाविरुद्ध २००४ मा उहाँले नेपाली सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । नेपालका लागि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट खेल्ने ११ मध्ये उहाँ एक खेलाडी हुनुहुन्छ । नेपालले २०१८ को अगष्टमा आफ्नो पहिलो ओडिआई नेदरल्याण्ड्ससँग खेलेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पारस खड्का छैटौं नेपाली क्रिकेटर हुनुहुन्छ । २०१२ मा कुवेतविरुद्ध ७७ बलमा १०६ रनको पारी खेल्दै उहाँले पहिलो शतक प्रहार गर्नुभएको थियो । उहाँको कप्तानीमा नेपालले २०१० को डिभिजन ५, २००४ को डिभिजन ४, २०१२ को एसिसी ट्रफी इलिट, २०१३ को डिभिजन थ्री, २०१४ को डिभिजन थ्री जितेको थियो भने २०१४ को टी २० विश्वकप खेल्दै टी २० अन्तर्राष्ट्रियको मान्यतासमेत हासिल गरेको थियो ।
२०१९ जनवरीमा नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने उहाँ पहिलो खेलाडी बन्नुभयो । युएईविरुद्धको शृंखलाका क्रममा उहाँले उक्त शतक प्रहार गर्नुभएको थियो । यस्तै, नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गर्ने कीर्तिमानसमेत उहाँको नाममा छ । २०१९ कै सेप्टेम्बरमा उहाँले सिंगापुरविरुद्ध उक्त शतक प्रहार गर्नुभएको थियो ।
२०७६ असोजमै पारसले राष्ट्रिय टोलीको नेतृत्व छाड्नुभएको थियो । सन् २००९ देखि विनोद दासको स्थानमा उहाँलाई राष्ट्रिय टोलीको कप्तानी दिइएको थियो । कप्तानी सम्हालेपछि पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यतासमेत दिलाउनुभयो । जुन नेपाली क्रिकेटले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो ।
१५ वर्षमुनिको टोलीमा छनोट भएपछि पारसको क्रिकेट करिअर सुरु भएको हो । पारसले २००२ मा यूएईमा भएको यू-१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाउनुभएको थियो । अर्को वर्ष पारसले १९ वर्षमुनिको नेपाली टोलीबाट खेल्नुभयो । त्यसबेला कराँचीमा भएको युथ एसियाकपमा पारसले भारतविरुद्ध खेल्नुभएको थियो ।
पारसले नेपालबाट २००४, २००६ र २००८ गरी तीनवटा यू-१९ विश्वकप खेल्नुभएको छ । सन् २००५ उनी यू-१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसिसी यू–१९ वल्र्ड कप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
एसोसियट क्रिकेटमा पारस सबैभन्दा लामो समय कप्तानी गर्नेमध्येका एक हुनुहुन्छ । सन् २००९ देखि २०१९ सम्म १० वर्ष पारसले नेपाली टोलीको कप्तानी गर्नुभयो । उहाँले कप्तानी पाएसँगै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्यो । जुन आइसिसीको ठूलो प्रतियोगिता जितेको नेपालले पहिलो पटक थियो ।
२०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाएका पारसले त्यसै वर्षको एसिसी ट्रफी इलाइटको उपाधि दिलाउनुभयो । उहाँ उक्त प्रतियोगिताको प्लेयर अफ द सिरिज पनि बन्नुभएको थियो । सो प्रतियोगितामा उहाँको रन औसत ७२.७५ को हुनुका साथै ९ विकेट लिनुभएको थियो ।
सन् २०१३ मा भएको एसिसी टी-२० कपमा पनि उहाँ प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्नुभयो । सोही वर्ष बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाललाई च्याम्पियन बनाउँदै टी-२० विश्वकप छनोटमा पु¥याउनुभयो र छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकपमा छनोट भयो भने टी-२० अन्तर्राष्ट्रियको मान्यतासमेत पायो ।
नेपाललाई २०१५-१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिपको नेतृत्व गरेका पारसले २०१८ को फेब्रुअरीमा भएको डिभिजन दुईको उपविजेता बनाउँदै मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पु¥याउनुभयो । उक्त छनोटमा आठौं बन्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता हासिल गरेको थियो ।
आफ्नो करिअरबारे उहाँ भन्नुहुन्छ, ‘म धेरै खुसी र भाग्यमानी छु । मेरो त सपना पनि थिएन, नेपालका लागि क्रिकेट खेल्ने तर भाग्यमा अर्कै कुरा लेखेको थियो । यू-१५, १७, १९ खेल्दै गएपछि राष्ट्रिय टिममा पुगेर त्यसको नेतृत्व गर्ने मौका पनि पाएँ । यो अविश्वसनीय यात्रा थियो । तर, हरेक कुराको अन्त्य हुन्छ । कुनै पनि कुरा जीवनमा स्थायी छैन ।’
खेल जीवनपछि भने पारसले नेपाली क्रिकेटको व्यवस्थापनमा आउने जनाइसक्नुभएको छ । ‘भविष्यमा मैले नेपाल क्रिकेट संघको नेतृत्व गर्ने सोचेको छु । तर, त्यो सोचेजस्तो सजिलो छैन । त्यसका लागि पूरै नयाँ संरचनामा आफूलाई ढाल्न सक्नुपर्छ । अहिलेसम्म मैले आफूलाई खेलाडीका रूपमा मात्रै आफूलाई प्रस्तुत गरेको छु । पदाधिकारी भएर आउने हो भने मैले पहिले क्रिकेटको विकासका लागि पनि काम गर्नुप¥यो ।’ उहाँ भन्नुहुन्छ ।




















