काठमाडौं:= अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले पदबाट राजीनामा दिनुभएको छ । सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउँदै पदबाट राजीनामा दिनुभएको हो ।
सहायक महासचिव अर्यालले एन्फाको साधारणसभाले विधान संशोधन गर्दै मनोनित पदहरू खारेज गरेकाले उक्त पदमा रहन नैतिक संकट परेकाले पदबाट अलग हुने निर्णय गरेको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले, सहमहासचिव अर्यालसहित १७ जनालाई कार्यसमितिमा मनोनित गर्नुभएको थियो ।
पछिल्लो समय एन्फामा विवाद चर्किएको छ । एन्फाले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद समाधान गर्ने जिम्मा एन्फाले खेलकुद मन्त्रालयलाई दिएको छ । कार्यसमिति बैठकमा आपसी सहमति जुटाउन नसक्दा एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरी र दुई सञ्चारकर्मीले तीन पक्षले छानबिनका लागि अलग–अलग निवेदन दर्ता गराएपछि एन्फाले शुक्रबारका लागि एन्फा केन्द्रीय समितिको आपत्कालीन बैठक राखेको थियो ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बैठकमा अलमुताइरीलाई कारबाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्ने बताउनुभएपछि नेम्बाङसहित उपाध्यक्ष कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामा बैठक छाडेर निस्कनुभएको थियो । बैठकमा प्रशिक्षक अलमुताइरीलाई पनि आफ्नो कुरा राख्न दिइएको थियो ।
प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गर्नुभएको थियो ।
सामाजिक सञ्जालमार्फत् अलमुताइरीले राजीनामा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दुःख दिएको उल्लेख गर्नुभएको थियो ।




















