यांंगुन:= म्यानमारको सैन्य प्रमुख मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गर्नुभएको छ । उहाँले एक टेलिभिजन च्यानलमार्फत् आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै म्यानमारमा जारी संकटकाल दुई वर्ष लम्ब्याउनु भएको हो ।
हलिङले सन् २०२३ को अगष्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने बताउनुभएको छ । यो घाषणासँगै सैनिक नेतृत्वले ६ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्वजनिक गरेको निर्वाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको छ । त्यतिखेर सेनाले ६ महिनाभित्र निर्वाचन गर्ने बताएको थियो ।
‘हामीले अगष्ट २०२३ सम्ममा आकस्मिक अवस्थाका प्रावधानहरू पूरा गर्नेछौँ । उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौँ,’ हलिङले भन्नुभएको छ ।
‘मैले कुनै पनि हालतमा तोकिएको समयमा बहुदलीय निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उहाँले निर्वाचन घोषणा गर्दै टेलिभिजनमार्फत गरेको सम्बोधनमा भन्नुभएको छ ।
उहाँ ‘कू’पछि गठन गरिएको संयन्त्र राज्य प्रशासन परिषद् (एसएसी) का अध्यक्षसमेत हनुहुन्छ । अब कामचलाउ सरकार गठन भएपछि त्यो संयन्त्र नरहने बताइएको छ । राज्य प्रशासनलाई चुस्त बनाउन कामचलाउ सरकार गठन गरिएको सेनाले दाबी गरेको छ । सेना प्रमुख हलिङले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ‘आसियान’ले तोकेका कुनै विशेष दूतसँग काम गर्न तयार रहेको बताउनुभएको छ ।
सेनाले गत फागुनमा नागरिक आन्दोलनका अगुवालाई देश निकाला गरेपछि म्यानमारमा सैनिक शासन लागू गरिएको छ । विपक्षी दलहरूको आन्दोलन र सैनिक प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिन भन्दै चलाएका सुरक्षा कारबाहीका कारण म्यानमारको दैनिकी अस्तव्यस्त भएको छ ।
स्थानीय अनुगमन समूहका अनुसार सेनाले निर्वाचित सरकारलाई हटाउँदा भएका झडपहरूमा पछिल्लो समयसम्म ९०० भन्दा बढीको मृत्यु भएको छ । सेनाले सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले जितेको सन् २०२० को नोभेम्बरमा सम्पन्न निर्वाचनमा व्यापक अनियमितता भएको दाबी गर्दै सत्ताको नेतृत्व लिएको हो ।




















