काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका नवनियुक्त सचिव मधुकुमार मरासिनीलाई छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै थोरै सुत्न र धेरै काम गर्न निर्देशन दिनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित नवनियुक्त सचिव मरासिनीको स्वागत तथा निवर्तमान सचिव शिशिरकुमार ढुंगानाको बिदाइ कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । अर्थमन्त्री शर्माले सविधानले निर्दिष्ट गरेअनुसार समाजवादोन्मुख अर्थतन्त्र निर्माणकार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभयो । आगामी दिनमा थोरै समयमात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्नुपर्ने उहाँको भनाइ छ ।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मिहिनेत गर्नुपर्ने भन्दै उहाँले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीलाई समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘मन्त्रालयमा टेबुल-टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयमा एउटै टेबुलमा बसेर छिटो-छिटो काम गर्नुपर्छ । मन्त्रीले जान वा अन्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।’
नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत् रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योगको ७० प्रतिशत योगदान रहेको उल्लेख गर्दै उहाँले साना तथा मझौला उद्योगले देशमा बेरोजगारी र गरिबी अन्त्य गर्न सहयोग पु¥याउने बताउनुभयो ।
निवर्तमान अर्थसचिव ढुंगानाले कोरोनाका कारण अर्थतन्त्रमा परेको नकारात्मक असर विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको थियो । कोरोना महामारीकै बीच राजस्व संकलन लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्न सक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, रेमिट्यान्स वृद्धिका साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायत सकारात्मक परिसूचकसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो ।
अर्थ मन्त्रालय र मातहत निकायमा १३ वर्ष नौ महिना काम गर्नुभएका सचिव ढुंगानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीबारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतसँग रहेका ठूला कोषको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केट प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
स्वागत तथा बिदाइ कार्यक्रमको सहजीकरण गर्दै राजस्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव ढुंगानाको बिदाइले अर्थ मन्त्रालयमा सिर्जना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव सँगाल्नुभएका योग्य सचिव मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएका मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानाको बिदाइ गरिएको हो । आगामी छ महिनापछि सेवानिवृत्त हुने ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।




















