काठमाडौं:= गायक एवं मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ । संस्थाको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले दुर्गेशले सार्वजनिक गरेको तीजगीतले तीजको मर्ममाथि प्रहार गरेको भन्दै सो निर्णय गरेको हो ।
दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा-४ ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो । गीत ल्याउनुअघि नै दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो ।
तर, दुर्गेशले त्यसमा कुनै प्रतिक्रिया नजनाई बेवास्ता गरी गीत सार्वजनिक गर्नुभएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्मविपरीत रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।
प्रतिष्ठानका उप-महासचिव एवं विकृति विसंगति न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालले बैठकपछि मिडियासँग भन्नुभएको छ,‘हामीले उहाँलाई संस्थागत बहिष्कारको निर्णय गरेका छौं ।
प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट वञ्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला-महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेका छौँ ।’ प्रतिष्ठानले यसअघि दुर्गेशलाई आफ्ना गीतहरू सच्याउनका लागि पटकपटक आग्रह गर्दै आएको थियो ।




















