युट्युबमै रमाउँदै नेपाली नायिकाहरू।

काठमाडौं:= अहिले नेपाली कला क्षेत्रमा चलचित्रतर्फका गतिविधि ठप्प छन् । गीतसंगीत र टेलिफिल्मबाहेक ठूला चलचित्रहरू छायाँकन हुन पनि सकेका छैनन् र छायाँकन भएर बसेका चलचित्र पनि प्रदर्शन हुन सकेका छैनन् । विशेषगरी कोभिडका कारण विगत दुई वर्षदेखि चलचित्र क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

चलचित्र क्षेत्र ठप्प भएपछि चलचित्रमा काम गर्ने कलाकार र प्राविधिकहरू पनि अहिले बेरोजगार छन् । दैनिक छायाँकनमा व्यस्त हुने कलाकारहरूलाई अहिले केही म्युजिक भिडियोतर्फ देख्न सकिन्छ भने केही सामाजिक सञ्जालहरूमै भुलेको देखिन्छ । पछिल्लो समय नेपालमा पनि विभिन्न सामाजिक सञ्जालबाट राम्रो आम्दानी हुन थालेपछि फुर्सदिला सेलिब्रेटीहरूको त्यतातिर पनि मोह देखिएको छ । चलचित्रबाट अहिलेका लागि काम नपाएपछि युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा सेलिब्रेटीहरू दैनिकजसो अपडेट छन् ।

नेपालमा पनि युट्युबबाट राम्रो आम्दानी हुने भएकाले यसैलाई मुख्य पेशा बनाएर भिडियो निर्माणमै व्यस्त जमात धेरै छ । विशेषगरी मनोरञ्जन क्षेत्रका समाचार अपडेट दिने समाचार पोर्टलहरूमध्ये अधिकांशको मुख्य आम्दानीको स्रोत युट्युब नै छ । यस्तै अहिले केही सेलिब्रेटीहरूलाई पनि युट्युबमा व्यस्त देख्न सकिन्छ । विशेषगरी सेलिब्रेटीहरूले आफ्ना दैनिक गतिविधि युट्युबमा अपडेट गर्ने गरेको पाइन्छ । युट्युबबाट राम्रो आम्दानी हुने देखेपछि सेलिब्रेटीहरूले यसलाई निरन्तरता दिएको देखिन्छ ।

नेपालका चर्चित तथा लोकप्रिय सेलिब्रेटीहरू करिश्मा मानन्धर, प्रियंका कार्की, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउतलगायतले त अहिले शृंखलाबद्ध तरिकाले निरन्तर युट्युबमा भिडियो अपलोड गरिरहेका छन् । पछिल्लो केही महिनायता अभिनेत्री करिश्मा मानन्धरले आफ्नै नामको युट्युब च्यानल सञ्चालनमा ल्याएर दुई महिना नपुग्दैको अवधिमा २४ वटा भिडियो अपलोड गरिसक्नुभएको छ । दर्शकले थुप्रै चलचित्रमार्फत् देखेको अनुहारलाई युट्युबमा सहजै देख्न पाउने भएपछि युट्युबमा भ्युज नआउने पक्कै भएन, त्यसैले पनि करिश्माले अपलोड गर्ने भिडियोहरूमा राम्रै भ्युज देखिन्छ । करिश्माले आफ्ना विभिन्न व्यक्तिगत गतिविधि, छायाँकन जाँदाका दृश्यलगायतका भिडियो सामग्रीहरू युट्युबमा अपलोड गर्नुहुन्छ । करिश्माले ५ जुन, २०२१ मा युट्युबमा पहिलो भिडियो अपलोड गरेको देखिन्छ । जुन विश्व वातावरण दिवसको दिन सन्देश दिएर युट्युब सुरु गर्नुभएको थियो । अहिले करिश्माले झण्डै दुई दिनमा एक वा सातामा दुईवटा भिडियो अपलोड गर्नुहुन्छ । ‘करिश्मा मानन्धर’ नाम रहेको युट्युब च्यानलमा आजसम्म ५४ हजार ‘सब्स्क्राइभर’ भइसकेका छन् । करिश्माले अब आफ्नो उक्त युट्युब च्यानलमा म्युजिक भिडियो निर्माण गर्ने तयारीमा रहेको पनि बुझिएको छ ।

अर्की नायिका प्रियंका कार्की पनि पछिल्लो समय युट्युबमा निकै सक्रिय हुनुहुन्छ । विशेषगरी नायक आयुष्मान देशराज जोशीसँगको बिहेपछि प्रियंकाको सामाजिक सञ्जालमा बढी सक्रियता छ । अहिले गर्भवती रहेको समयमा प्रियंकाले आफ्नो घरकै गतिविधि बढी अपलोड गरेको देखिन्छ । साथै आफ्ना सहकर्मीहरूसँगको कुराकानीलाई पनि भिडियो बनाएर अपलोड गर्नुहुन्छ । प्रियंकाको आफ्नो नामको उक्त युट्युब च्यानल १६ जुलाई २०१६ मा बनेको देखिन्छ । तर, पछिल्लो समय प्रियंका युट्युबमा बढी सक्रिय हुनुहुन्छ । प्रियंकाले अपलोड गरेका भिडियोहरूमा साधारणतया दुई लाखदेखि पाँच लाखसम्म भ्युज आएका हुन्छन् ।

यस्तै सन् २०१८ मा बनाइएको नायिका ऋचा शर्माको युट्युब च्यानल पनि पछिल्लो समय खुबै सक्रिय छ । अहिले चलचित्रबाट फुर्सद भइरहँदा आफ्ना गतिविधि अपलोड गर्नमा ऋचा व्यस्त देखिनुहुन्छ । ऋचाले अहिलेसम्म आफ्नो युट्युबमा दुई वर्षको अन्तरालमा ४७ वटा भिडियो अपलोड गरिसक्नुभएको छ । तर, पछिल्लो केही महिनायता झण्डै सातामा दुईवटा भिडियो अपलोड गर्नुहुन्छ । ऋचा पनि गर्भवती भएकाले दर्शकले अझ पनि चासो दिएर हेरेको देखिन्छ । ऋचाले घरका सदस्यसँग मिलेर विभिन्न खानाको परिकार पकाएको भिडियो सामग्री बढी अपलोड गरेको देखिन्छ ।

यस्तै, अर्की नायिका रिमा विश्वकर्माको युट्युबमा पनि दुई वर्षको अन्तरालमा ४७ वटा भिडियो अपलोड छन् । रिमा विशेषगरी आफ्ना व्यक्तिगत गतिविधिहरू युट्युबमा अपलोड गर्नुहुन्छ । रिमाले महिनामा एउटा भिडियो अपलोड गरेको देखिन्छ । यस्तै नायिका वर्षा राउत र उहाँका श्रीमान् तथा नायक सन्जोग कोइरालाले मिलेर ‘सन्सा’ नामको युट्युब च्यानल चलाइरहनुभएको छ । सन् २०१९ मा बनाइएको उक्त युट्युब च्यानलमा अहिलेसम्म दुई लाख १० हजार बढीले सब्स्क्राइभ गरेका छन् । वर्षा र सन्जोगले पनि आफूहरू विभिन्न ठाउँमा घुमेका ‘भ्लग’ भिडियोहरू अपलोड गरेको देखिन्छ ।

त्यस्तै नेपालका अन्य थुप्रै सेलिब्रेटीहरू पनि सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ । विशेषगरी गायक तथा गायिकाहरू आफ्नै युट्युब च्यानलमा आफ्ना गीतका भिडियोहरू अपलोड गर्नुहुन्छ । त्यसैगरी अन्य नायकनायिकाहरूले पनि विभिन्न भ्लग भिडियो अपलोड गरिरहेको पाइन्छ ।