काठमाडौं:= एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले देशव्यापी सञ्चालनमा रहेको बलियो नेपाल अभियान नामक क्रिकेट अभियानमा राष्ट्रिय क्रिकेट टोलीका वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काको संग्लनताबारे उठाएको प्रश्नमा खड्का, मल्ल र लामाले आपत्ति जनाउनुभएको छ ।
अख्तरले क्यानका केन्द्रीय सदस्य छुम्बी लामासँगै खेलाडीद्वय पारस र ज्ञानेद्र एउटै कार्यक्रममा उपस्थित हुँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने भन्दै क्यानका पदाधिकारिकारीलाई पत्र लेख्दै छानविनको माग गर्नुभएको थियो । उहाँले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महसचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनबहादुर सिंह, क्रिकेट निर्देशक विनोद दास र प्रबन्ध निर्देशक रौनक मल्ललाई इमेल लेख्दै क्यानका सदस्य र खेलाडी मिलेर एकसाथ व्यापार गर्दा आगामी दिनमा भ्रष्टाचारको सम्भावना बढाउने बताउनुभएको थियो ।
प्रतिक्रिया स्वरूप ज्ञानेन्द्र, पारस र लामाले एक विज्ञप्ति जारी गर्दै खेलाडी, बोर्ड सदस्यमाथि मानहानी र चरित्र हत्या गर्ने उद्देश्यका साथ उक्त समाचार बाहिरिएको बताउनुभएको छ ।
संयुक्त विज्ञप्तिमा उहाँले बलियो नेपालप्रति गरिएको प्रश्नलाई निन्दनीय भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको ‘बलियो नेपाल एक गैरनाफामूलक संस्थाले सामाजिक सञ्जाल क्लब हाउमा आयोजना गरेको क्रिकेट छलफल कार्यक्रममा सहभागी भएको विषयमालाई आधार बनाएर हामी खेलाडी र क्यानका सदस्यमाथि सोधिएको प्रश्न निन्दनीय छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालको लागि दुई दशक लामो समयदेखि क्रिकेट खेल्दै र टोलीको कप्तानी गर्दै आएका खेलाडीको चरित्रमाथि नै प्रश्न सोधिनु आफैंमा निच कार्य रहेको हाम्रो बुझाई छ । प्रकाशित सो समाचारले खेलाडीहरू शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र रुविना क्षेत्रीको चरित्रमा दाग लगाउने काम गरेको छ ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रमाथि विना प्रमाण लगाइएको आरोप आफूलाई बदनाम गराउने प्रयत्नमात्रै भएको बताउनुभएको छ ।
खड्काले शुक्रबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आजसम्म आफ्नो नियत र इमानदारीतामाथि कसैले प्रश्न नगरेको भन्दै नेपाली क्रिकेटबाट वर्षौंदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट गलत भएको हुन सक्नेु भन्दै आफ्ना, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले अत्यन्तै दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।
तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन । नेपाली क्रिकेटबाट वर्षौंदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट गलत भएको हुन सक्नेु भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दुःखी बनाएको छ । यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्नमात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु,’ पारसले गरेको पोष्टमा उल्लेख छ ।
यता नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैरनाफामूलक अभियान बलियो नेपालसँग संघका सदस्य र खेलाडीलाई जोडेर लगाएको आरोपबारे आवश्यक देखिए छलफल हुने बताउनुभएको छ ।




















