एनआरएनए मलेसियाको अध्यक्षमा तीन जनाको दाबी, दर्ता र सदस्यता शुल्क २ लाख रिंगेट बढी।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि आगामी महाधिवेशनमा अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न।

एनआरएनए मलेसियाले तोकेको मितिबाट एक दिन बढि १७ जुलाईसम्म थपेको उम्मेदवारी दर्ताको समयावधि सम्ममा अध्यक्ष पदमा तीन जना क्रमशः नयाँ अनुहारको रुपमा बिनोद थापाले अध्यक्ष पदमा उम्मेदवारी दिइएको हो , त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईले फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् , भने पूर्व अध्यक्ष तथा निवर्तमान अन्र्तराष्ट्रिय समिति सदस्य विश्वबिक्रम राईले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

एनआरएन मलेसियाको बरिष्ठ उपाध्यक्ष पदमा निवर्तमान महासचिव हेमराज सापकोटा र इन्द्रनारायण लिम्बुको प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै उपाध्यक्ष पदमा दीलकूमार केरुङ्ग, जयराम तिमल्सिना र राकेशप्रसाद महतो गरि ३ जनाको उम्मेदवारी परेको छ । जसमध्येमा २ जना मात्र उपाध्यक्षमा चुनिनेछन्।

त्यसैगरि महासचिव पदमा रंजितकूमार क्षेत्री र सूनिल चालिसेको उम्मेदवारी परेको छ । जसमध्येमा १ जना मात्र महासचिव पदमा निर्वाचित हुनेछन् । दुई जनाको कोटा रहेको सचिव पदमा पनि तीन जनाको उम्मेदवारी परेको छ। जसमा नारायण अधिकारी, सन्तोष प्रसाद रिजाल र रोशन सुब्बा प्रतिस्पर्धा गर्दैछन्।

एनआरएनए मलेसियाको कोषाध्यक्ष पदमा दुई जना प्रतिस्पर्धि देखिएका छन् । जसमा एक जना मात्र निर्वाचन हुनेछन् । कोषाध्यक्ष पदमा उम्मेदवार दिनेमा निर्वातमान कोषाध्यक्ष कृष्णप्रसाद नेपाल र नयाँ अनुहार अशोक लिम्बु रहेका छन् । सह कोषाध्यक्षमा भने बालध्वज लिम्बुको मात्र उम्मेदवारी परेकोले उनि निर्बिरोध निर्वाचित हुने निश्चित भएको छ।

त्यस्तै यूवा संयोजकमा शमशेरबहादुर मल्ल, अरुण गिरी र कृष्णबहादुर बस्नेतको प्रतिस्पर्धा हुनेछ । जसमध्ये एक जना निर्वाचित हुनेछन् । संस्थाको महिला संयोजकमा मिरा पुरी गिरीको मात्र उम्मेदवारी परेकोले उनि पनि स्वत: निर्बिरोध निर्वाचित हुने भएकि छिन् । यस अगाडी महिला उपाध्यक्ष पद रहने गरेकोमा यस पटक भने महिला संयोजक पद राखिएको छ।

एनआरएन मलेसियामा सात जना कार्यकारी सदस्य पद रहने भएता पनि ७ जनाले मात्र उम्मेदवारी दर्ता गरेका छन्। जसमध्येमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, दिने खड्का, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा रहेका छन् ।

त्यसै गरि एनआरएन मलेसियाले यस पटक पाँच हजार भन्दा बढि सदस्य संख्या पुर्‍याएकोले पाँच जना अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) पाउने छ । जस मध्येमा आईसिसीमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्येमा बिरेन्द्र नेगि, लालबहादुर आले (सुन्दर), नन्दबहादुर क्षेत्री, टेकबहादुर टोमाटा, रमेशप्रसाद तिवारी, शुभद्राकूमारी लिम्बु रहेका छन्।

निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै सम्पूर्ण उम्मेदवारहरुको नाबावलि सार्वजानिक गरेसँगै दाबी बिरोध तथा उम्मेदवारी फिर्ताको समय १८ जुलाई बेलुका ५ बजेसम्मलाई तोकेको छ।

एनआरएन मलेसियाको इतिहासमै पहिलो पटक निर्वाचन प्रणालीबाट पदाधिकारीहरु निर्वाचत हुन लागेका हुन् । यस भन्दा अगाडीसम्म सर्बसहमतिमै कार्यसमिति पदाधिकारीहरु चुनिने गरेका थिए।

त्यस्तै यता सबै पदमा परेका उम्मेदवारहरुको दर्ता शुल्क जम्मा गर्दा एनआरएनए मलेसियाको कोषमा आरएम ८४ हजार रिंगेट भन्दा बढि रकम जम्मा हुने भएको छ। साथै
५ हजार २ सय ५९ जना साधारण सदस्यले सबैलेनै आफ्नो आफ्नो सदस्यता शुल्क आरएम ३० रिंगेटको दरले एनआरएनएलाई बुझाउने हो भने पनि जम्मा साधारण सदस्यता शुल्क मलेसियन रिंगेट जम्मा १ लाख ५७ हजार ७७० आरएम उठ्ने भएको छ।

यदि दर्ता शुल्क र साधारण सदस्यता शुल्क जोड्ने हो भने यसपाली एनआरएनए मलेसियाको कोषमा जम्माजम्मी मलेसियन रिंगेट २ लाख ४१ हजार ७७० आरएम रकम जम्मा हुने देखिएको छ।