वैदेशिक रोजगार मोबाइल एप।

काठमाडौं:= वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी एप सञ्चालनमा ल्याइएको साझा सबाल मिडियाका सञ्चालक अनिल अधिकारीले जानकारी दिनुभयो ।

साझा सबाल मिडियाले २०७५ सालदेखि उक्त एप सञ्चालनमा ल्याएको हो । एप अब आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर ‘वैदेशिक रोजगार’ सर्च गरेर डाउनलोड गर्न सक्ने बताइएको छ । एपमार्फत् वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो, होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिन सकिने बताइएको छ ।

एपमा आफूलाई मनपरेको मुलुकको डिमाण्ड, सर्वाधिक धेरैले मनपराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचर उपलब्ध रहेको सञ्चालक अधिकारीले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जान चाहनेले ‘गुगल म्याप’ को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ । साथै विदेशमा समस्यामा परेका नेपालीले विभिन्न निकायमा निवेदन दिने नमुनाबारे जानकारी, वैदेशिक रोजगार बोर्डद्वारा जारी तालिम पाठ्यक्रम, वैदेशिक रोजगारसम्बन्धी ऐन÷कानुनबारे जानकारीलगायत विभिन्न निकायका सम्पर्क नम्बर थाहा पाउन सकिने बताइएको छ ।