१० महिनापछि रेल्वे ट्र्याकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने तयारी।

जनकपुरधाम:= नेपाल सरकारले रेल खरिद गरेर ल्याएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि रेल सञ्चालनमा आउन सकेको छैन । रेललाई विगत १० महिनादेखि घुम्टो ओढाएर राखिएको छ । विगत दश महिनादेखि थन्काएर राखिएको रेलको घुम्टो आज (आइतबार) खोलिँदै छ । १० महिनापछि रेल्वे ट्र्याकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने तयारी थालिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईका अनुसार जयनगर (भारत)-जनकपुर-कुर्था रेल्वे ट्र्याकमा आइतबार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेष्ट गरिँदै छ । उहाँका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उहाँले स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसधारणसँग अनुरोध गर्नुभएको छ । यसका लागि रेल्वे ट्र्याक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्नसमेत आग्रह गरिएको छ ।

ट्र्याक आसपासका बस्तीमा माइकिङसमेत गराएर सूचना जारी गरिएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानून अनुसार कारबाहीसमेत गरिने चेतावनी दिइएको छ । उहाँले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरूमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने जानकारीसमेत दिनुभएको छ ।

नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गतवर्षको असोज २ गते ल्याइएको थियो । तर, रेल ल्याइएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि विविध कारण देखाउँदै यो त्यतिकै थन्काएर राखिएको छ । रेल सञ्चालन आउन नसक्नुमा कर्मचारी व्यवस्थापन, कानुन अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारण बताउँदै आइएको छ ।

अहिले यो रेल इनरवा स्टेशनमा थन्काएर राखिएको छ । भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने भनिए पनि सञ्चालनमा भने आउन सकेको छैन् । जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा नै रहेको छ । अहिले रहेको ३४ किलोमटिरमा पनि रेल सञ्चालनमा आउन सकेको छैन ।

नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो । निकै लामो समय लगाएर नेपालले रेल खरिद गरेको भए पनि आवश्यक तयारी पूर्ण हुन नसक्दा रेल थन्किन बाध्य भएको हो । इनरुवामा रेलको ट्र्याकमै पार्क गरेर राखिएको रेलको सुरक्षार्थ सशस्त्र प्रहरी खटाइएको छ ।