सरकारमा सहभागी हुँदै उपेन्द्र समूह
काठमाडौं:= जनता समाजवादी पार्टी (जसपा) को आधिकारिताका विषयमा निर्वाचन आयोगले निर्णय दिने समय नजिक आउँदै गर्दा महन्थ ठाकुर पक्षमा असन्तुष्ट नेताहरू बढिरहेका छन् । ठाकुर पक्षमा असन्तुष्ट रहेका प्रतिनिधिसभा सदस्यहरू अहिले उपेन्द्र यादव पक्षमा खुल्न लागेका हुन् ।
जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन् ।
आयोगले जसपा विवादको सुनुवाइ गर्नुअघि सांसदहरू ठाकुरको साथ छाडिरहेका हुन् । शनिबार मात्रै पाँच जना सांसदहरू यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन् । यसअघि ठाकुर पक्षमा रहनुभएका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ ।
जसपा निलम्बनमा परेका दुई सांसदबाहेक ३२ जना सांसद छन् । जसमध्ये चारजना उपेन्द्र समूहमा गएपछि अब जसपाका दुईवटै खेमा संसदीय दलमा बराबरीको अवस्थामा पुगेका हुन् । यसअघि ठाकुर समूहमा २० र उपेन्द्र समूहमा १२ जना सांसद थिए । यादव पक्षमा जाने सांसदहरूले ठाकुर पक्षलाई लोकतन्त्र सिध्याउन लागेको आरोप पनि लगाएका छन् ।
ठाकुर पक्षमा खुलेका एक सांसदले हामीसँगको कुराकानीमा भन्नुभयो, ‘ठाकुरजीहरू लोकतन्त्र सिध्याउन लाग्नुभयो । राजावादीसँग मिल्नुभयो । केपी ओलीलाई नेता मानेर हिँड्नुभयो । त्यसैले हामीले साथ दिन सकेनौं ।’
योसँगै जसपाको यादव समूहले वर्तमान देउवा सरकारमा जाने निर्णय गरेको छ । शनिबार बसेको यादव पक्षको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । योसँगै आइतबारको संसद् बैठकमा सत्तापक्षको रोहमा बस्ने उहाँले बताउनुभयो । बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं नछाड्नसमेत निर्देशन दिएको छ । एमाले अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारमा ठाकुर पक्षलाई सहभागी गराए पनि केही सांसदहरू मन्त्री बन्न नपाएपछि असन्तुष्ट रहेका थिए । जसको परिणाम ओली नेतृत्वको सरकार बहिर्गमनमा परेसँगै देखिन थालेको छ ।
बालकोटमा ओली र ठाकुरबीच भेटवार्ता
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार अपदस्त भएपछि पहिलो पटक जसपाका एक अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू अोलीलाई भेट्न बालकोट पुग्नुभएको छ । सरकारबाट बाहिरिए पनि सहकार्य जारी राख्ने विषयमा छलफल गर्न नेताहरू बालकोट पुगेको बताइएको छ ।
बालकोटमा जसपा अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा पुग्नुभएको थियो । एक महिना पनि नपुग्दै सत्ता सहकार्य टुटेको जसपाको ठाकुर पक्ष अहिले पनि ओलीलाई साथ दिने मुडमा देखिएको छ । खासगरी आफ्नो पार्टीमा यादव समूहसँग कुरा मिल्न छोडेपछि ठाकुर पक्ष ओलीसँग नजिक भएर सरकारमा गएको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट करिब तनि हप्तामा नै जसपाबाट सरकारमा सहभागी मन्त्रीहरू समेतलाई कामकाज गर्न रोक लगाएको थियो ।
सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरूले बताएका छन् । आयोगमा जसपाका विवादका सन्दर्भमा निर्णय हुन बाँकी रहेको छ । तर, जसपाको ठकुर र यादव पक्षले अलग हुने निर्णय गरिसकेका छन् ।




















