अभिनेत्री सुरेखाको निधन।

एजेन्सी (मुम्बई) := चर्चित अभिनेत्री सुरेखा सिक्रीको शुक्रबार बिहान हृदयघातका कारण ७५ वर्षको उमेरमा निधन भएको छ। सुरेखालाई सन् २०१८ मा प्यारालाइटिक स्ट्रोक भएको थियो। गत वर्ष ब्रेन स्ट्रोक भएपछि उहाँको स्वास्थ्य केही थप कमजोर भइरहेको थियो।

तीनपटक नेसनल फिल्म अवार्ड जित्नुभएकी सुरेखाले सन् १९७८ को राजनीतिक ड्रामा फिल्म ‘किस्सा कुर्सी’ बाट अभिनय क्षेत्रमा प्रवेश गर्नुभएको थियो । तमस (१९८८), मम्मो (१९९५) र सन् २०१८ मा रिलिज भएको फिल्म ‘बधाइ हो’ मा गरेको अभिनयका लागि उहाँलाई नेसनल फिल्म अवार्ड प्रदान गरिएको थियो।

भारतको उत्तर प्रदेशमा जन्मिनुभएकी सुरेखाले सन् १९७१ मा ‘नेसनल स्कुल अफ ड्रामा’ बाट स्नातक गर्नुभएको हो । ‘बधाइ हो’ सुरेखाले फिल्ममा आयुष्मान खुरानाको हजुरआमा बनेर अभिनय गर्नुभएको थियो । जुन धेरैले मन पराए । उहाँ नेसनल फिल्म अवार्ड लिन ह्वीलचेयरमा जानुभएको थियो।

फिल्मबाहेक थिएटर र टेलिभजन कार्यक्रममा समेत उहाँ सक्रिय रहनुभयो । चर्चित भारतीय टेलिशृंखला ‘बालिका वधु’ मा कल्याणी देवीको भूमिकामा गरेको उहाँको अभिनय धेरैले मन पराएका थिए।