गायिका ब्रिट्नीलाई वकिल राख्ने अनुमति।

न्यूयोर्क := अमेरिकी पपगायिका ब्रिट्नी स्पेयर्सले उहाँको विवादास्पद ‘कन्जर्भेटरसिप’ मा नयाँ वकिल राख्ने अनुमति पाउनुभएको छ । बुधबार भएको सुनुवाइमा न्यायाधीशले ब्रिट्नीलाई नयाँ वकिल ‘हायर’ गर्न अनुमति दिएको हो ।

आफ्नो बुबाको संरक्षणबाट छुट्कारा पाउन दोस्रोपटक माग गर्दै बुधबार ब्रिट्नीले बुबालाई चाँडै उहाँको कन्जर्भेटरसिपबाट हटाउन माग गर्नुभएको हो । लस एन्जलसको सुपेरियर अदालतका न्यायाधीश ब्रेन्डा पेनीले ब्रिट्नीका पूर्वसंघीय अभियोजक मैथ्यु रोजेन्गार्टलाई हायर गर्नका लागि ब्रिट्नीलाई अनुमति दिएको हो । ब्रिट्नीका नयाँ वकिलले उहाँका बुबालाई तत्काल राजीनामा गर्न आग्रह गर्नुभएको छ ।

फोनमार्फत् नै सुनुवाइमा आबद्ध हुनुभएकी ब्रिट्नीले आँसु खसाल्दै उहाँका बुबाले आफूमाथि ओहोदाको दुरूपयोग गरेको आरोप पनि लगाउनुभएको छ । जब कोही व्यक्ति आफैंले आफ्नो कुनै पनि निर्णय लिन सक्दैन वा मानसिक अस्वस्थता हुन्छ, त्यो व्यक्तिलाई कन्जर्भेटरसिपको अनुमति दिइन्छ । ३९ वर्षीया गायिका सन् २००८ देखि उहाँको बुबाको संरक्षणमा हुनुहुन्छ ।

उहाँको व्यक्तिगत कुरादेखि आर्थिक पक्षलगायत हरेक कुरामा उहाँको बुबाले कानुनी संरक्षणको अनुमति पाउनुभएको छ ।बुधबार अदालतभित्र सुनुवाइ भइरहँदा बाहिर भने ब्रिट्नीको समर्थनमा नाराबाजी चलिरहेको थियो । उहाँको पहिलो अपिललाई अदालतले बलियो कारण र कागजात लिएर फेरि निवेदन पेस गर्नू भन्दै माग खारेज गरेको थियो ।