महान् मेस्सी

एजेन्सी := ३४ वर्षीय लियोनल मेस्सीले अर्जेन्टिनाबाट १५१ खेल खेल्दा एउटा पनि औपचारिक अन्तर्राष्ट्रिय उपाधि उचाल्न सक्नुभएको थिएन । विश्वका महान् खेलाडी मेस्सीलाई आलोचना गर्ने आधार एउटा यो मात्रै थियो । स्पेनिस क्लब बार्सिलोनामा १६ वर्ष बिताइरहँदा मेस्सीले ३५ वटा उपाधि जित्नुभएको छ । एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा उहाँको नाम गिनिज बुकमा उल्लेख छ ।

६ पटक विश्वको सर्वश्रेष्ठ खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड जित्नुले मेस्सी कत्तिको विलक्षण प्रतिभाका खेलाडी हुनुहुन्छ भन्ने स्पष्ट पार्छ । उहाँका चिरप्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यो अवार्ड पाँच पटकमात्रै जित्नुभएको छ ।

मेस्सी अर्जेन्टिनाबाट उपाधि नजिक नपुग्नुभएको होइन । २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा उहाँको कप्तानीमा अर्जेन्टिना फाइनल पुगेको थियो । त्यसअघि २००७ मा उहाँ खेलाडीका रूपमा कोपाको फाइनल खेल्नुभएको थियो । तर, चारैपटक मेस्सी उपविजेतामै सीमित रहनुभयो । उहाँको हातमा ट्रफी भने कहिल्यै परेन ।

यसपटक भने मेस्सीको यो अभाव पनि पूर्ति भएको छ । अघिल्लो हप्ता कोपा अमेरिका फुटबल उपाधि उचालेसँगै मेस्सीको देशका लागि उपाधि जित्ने अधुरो सपना पनि पूरा भएको हो । रियोको माराकाना स्टेडियममा आयोजक ब्राजिललाई अर्जेन्टिनाले १-० गोलले हराउँदा सर्वत्र मेस्सीको चर्चा चुलिएको थियो । रेफ्रीले अन्तिम सिठ्ठी फुकेसँगै मेस्सी खुसीसँगै भावुक बन्नुभयो । उहाँलाई खेलाडीहरूले एकैछिनमा उचालेर सेलिब्रेसन गरे ।

उपाधि उचाल्ने मेस्सीको प्रदर्शन पनि असाधारण रह्यो । उहाँ प्रतियोगिताको सर्वोकृष्ट खेलाडीसमेत चुनिनुभयो । मेस्सीले सात खेलमा चार गोल र पाँच गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो । अर्जेन्टिनाले प्रतियोगितामा गरेको १२ मध्ये नौ गोलमा उहाँको योगदान रहेको थियो । सोही कारण उहाँलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसँगै सर्वाधिक गोलकर्ताको अवार्डसमेत दिइएको थियो ।

मेस्सीले जितेको अर्जेन्टिनाका लागि यो पहिलो औपचारिक उपाधि हो । तर, २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनाले स्वर्णपदक जित्दा र सन् २००५ मा अर्जेन्टिनालाई फिफा यू–२० विश्वकपको उपाधि जित्दा मेस्सी त्यसको सदस्य हुनुहुन्थ्यो।

क्लबका लागि मेस्सीले केसम्म जित्नुभएको छैन । उहाँले दश ला लिगा, चार च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, तीन युरोपियन सुपर लिग, सात कोपा डेल रे र आठ स्पेनिस सुपर लिगको उपाधि जित्दै आफूलाई महान् खेलाडीका रूपमा उभ्याउनुभएको छ ।

उहाँले २०११–१२ को सिजनमा ला लिगामा ५० गोल गर्दै एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा गिनिज बुकमा नाम लेखाउनुभएको छ । ला लिगाको इतिहासमा उहाँ सर्वाधिक गोलकर्ता हुनुहुन्छ । यी सबै उपलब्धि र कीर्तिमानका माझ पनि मेस्सी विनम्र हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म आफूलाई उत्कृष्ट खेलाडी मान्दिनँ, म अन्यजस्तै एउटा खेलाडीमात्रै हुँ । मैदानमा खेल सुरु हुँदा हामी सबै (खेलाडीहरू) एउटै हुन्छौं ।’

मेस्सीको जन्म अर्जेन्टिनाको रोसारियो सहरमा सन् १९८७ जनवरी २४ मा भएको हो । सानैदेखि मेस्सीमा फुटबल प्रतिभा थियो । तर, उहाँको उमेरअनुसारको उचाइ भने थिएन । सोही कारण उहाँका बुबा जोर्गीले विभिन्न क्लबसँग कुरा गर्दै उहाँको उपचार खर्च जसले बेहोर्छ त्यही क्लबबाट आफ्नो छोरा खेल्ने घोषणा गर्नुभयो ।

त्यसबेला मेस्सीको उपचार खर्चमात्रै मासिक एक हजार डलर बढी पथ्र्यो । जुन स्थानीय अर्जेन्टिनी क्लबहरू तिर्न तयार नदेखिएपछि उहाँका बुबा क्लब खोज्न बार्सिलोना पुग्नुभएको थियो । बार्सिलोनाले भने उहाँको उपचार खर्च तिर्न तयार भएपछि मेस्सीले बार्सिलोनालाई विश्वकै सर्वाधिक सफल क्लबमध्येको एक बनाइदिनुभयो ।

सन् २००४ मा मेस्सीले बार्सिलोनाबाट डेब्यू गर्नुभएको हो । सन् २००९ सम्ममा उहाँ विश्व फुटबलमा चर्चित भइसक्नुभएको थियो । त्यस वर्ष बार्सिलोनाले ६ वटा ट्रफी जित्दै इतिहास रचेको थियो । बार्सिलोनाबाट सो वर्ष मेस्सीले कोपा डेल रे, ला लिगा, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, स्पेनिस सुपर लिग र यूईएफए सुपर लिगको उपाधि जितेको थियो । हरेक प्रतियोगितामा मेस्सीको प्रदर्शन उत्कृष्ट थियो । ‘म हरेक दिनलाई नयाँ चुनौतीका रूपमा लिन्छु र आफ्नो उत्कृष्ट खेल्ने प्रयास गर्छु’, मेस्सी भन्नुहुन्छ, ‘म विगतमा पनि त्यस्तै गर्थें र अहिले पनि त्यस्तै गरिरहेको छु ।’