‘मिस वल्र्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताबाट भोटको अपिल।

काठमाडौं:= मिस वल्र्डका लागि भोटिङ लाइन खुला गरिएको छ । यसपटक मिस वल्र्डमा नेपालबाट ‘मिस नेपाल वल्र्ड २०२०’ नम्रता श्रेष्ठले सहभागिता जनाउँदै हुनुहुन्छ ।

अमेरिकामा आयोजना हुन लागेको ‘मिस वल्र्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आहृवान गरिएको छ । ‘पपुलर च्वाइस अवार्ड’ विधाको लागि सुरु भएको भोटिङ ग्राण्ड फिनाले सम्म गर्न पाइनेछ । ‘मिस नेपाल वल्र्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ ले ‘पपुलर च्वाइस’ विधामा नम्रतालाई जिताउन सबै नेपालीलाई भोट गर्न फेसबुकमार्फत आग्रह गरेको छ ।

भोटिङ गर्न मवष्टार एप डाउनलोड गरेर नम्रताले पोष्ट गरेका फोटोहरूमा लाइक तथा कमेन्ट गर्नुपर्ने हुन्छ । सोही आधारमा उहाले अंक पाउनुहुनेछ । साथै, इन्स्टाग्राममा उहाँको पोष्टहरूमा लाइक तथा कमेन्ट गर्न सकिनेछ । यसअघि ‘पपुलर च्वाइस अवार्ड’ फेसबुकबाट गर्न सकिने नियम थियो ।

तर, त्यो नियम परिवर्तन गर्दै मिस वल्र्डले मवष्टरबाट मात्र भोट गर्न मिल्ने नियम ल्याएको हो । गतवर्ष कोरोना महामारीले रोकिएको मिस वल्र्डको ग्राण्ड फिनाले आउँदो डिसेम्बर १६ मा अमेरिकाको पुएर्तोरिकोमा आयोजना हुनेछ ।