ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, २१ पदाधिकारी सहभागी हुँदै।

काठमाडौं:= जापानको टोकियोमा हुने ओलम्पिकमा नेपालका तर्फबाट पाँच खेलाडीसहित २१ जना प्रशिक्षक तथा पदाधिकारी सहभागी हुने भएका छन् । सहभागी हुने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच बिदाइ गर्नुभयो ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा सहभागी हुने टोलीलाई परम्पराअनुसार राष्ट्रपतिले बिदाइ गर्ने पुरानो परम्परा रहेको छ । टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स), एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नुहुनेछ ।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहनुभएको छ । नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवाल रहनुभएको छ । सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्ने भएको छ । सदस्य–सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहनुभएको छ ।

सिलवालसँगै जाने दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहनुभएको छ । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने हुनुभएको छ ।

त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टिम लिडर रहेका सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलका रूपमा सूर्यनारायण श्रेष्ठ जापान जाने हुनुभएको छ ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदस्यीय टोली जापान जाने तय भएको छ । अध्यक्षको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्वय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ रहनुभएको छ ।

त्यसबाहेक साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना रहनुभएको छ । यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् ।

ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नुहुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत् बुधबार टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको थियो । सिंहले दोस्रोपटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी बन्दैछन् । उहाँले सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गर्नुभएको थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रूपमा रहेको ओलम्पिकमा छनोट हुन पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताउनुुभयो । उहाँले भन्नुभयो, ‘ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्ड कार्ड’ मार्फत् छनोटमा पर्न सफल हुनुभएको छ ।

नेपाल खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र संगीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्ड कार्डमार्फत् प्रतिनिधित्व हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा पौडी र एथलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यसपटक भने एथलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छौं ।’

आफैं पदक लगाउनुपर्ने

यसैबीच टोकियो ओलम्पिकमा पदक विजेता खेलाडीले आफैंले पदक लगाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाकले कोरोना महामारीका कारण पदक विजेता खेलाडी स्वयंले मेडल लगाउनुपर्ने बताउनुभएको हो ।

बुधबार सञ्चारमाध्यमलाई जानकारी दिँदै अध्यक्ष बाकले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न खेलाडी आफैंले पदक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । पदक खेलाडीलाई ट्रेमा दिइनेछ र खेलाडी स्वयंले पदक लिएर लगाउनुपर्ने उहाँले बताउनुभयो ।