मुम्बई:= भारतीय क्रिकेट टिमको कप्तान भइसक्नु भएका क्रिकेटर सौरव गांगुलीको जीवनीमा बायोपिक बन्ने भएको छ । पूर्वक्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरवले आफ्नो बायोपिकका लागि सहमति दिइसक्नुभएको छ । २ सयदेखि २ सय ५० करोडमा निर्माण हुने यो फिल्मको शीर्ष भूमिकामा अभिनेता रणवीर कपुरको नाम चर्चामा छ ।
सौरव आफैंले समाचारको पुष्टि गर्नुभएको हो । ‘हो, मैले बायोपिकका लागि मञ्जुरी दिइसकेको छु । यो फिल्म हिन्दी भाषामा हुनेछ । मेरा लागि अहिले नै निर्देशकको नाम घोषणा गर्नु बेठिक हुनेछ । सबै कुरा फाइनल भएपछि हामी फिल्मका बारेमा सार्वजनिक गर्नेछौं’, सौरवले भन्नुभएको छ ।
चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ । प्रोडक्सन हाउसले सौरवसँग स्क्रिप्टका लागि कैयौंपटक भेटिसकेको छ । केही समय अघि अभिनेत्री नेहा धुपियाले सौरवको अनस्क्रिन भूमिकाका लागि अभिनेता ऋति रोशन ठीक हुने उल्लेख गर्नुभएको थियो । चलचित्रमा सौरवको युवा क्रिकेटर बनेदेखि भारतीय राष्ट्रिय टिमको कप्तान बनुञ्जेलसम्मको यात्रा देखाइनेछ ।




















