कल्याणकारी कोषमा वसुन्धराद्वारा १ लाख २८ हजार सहयोग हस्तान्तरण।

काठमाडौं:= चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि अभिनेत्री वसुन्धरा भुसालले एक लाख २८ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

केही समयअगाडि अमेरिका भ्रमणको बेला अमेरिकाबाट सञ्चालित टक शो ‘सापटी’मा सहभागी भएबापत उक्त रकम उहाँले प्राप्त गर्नु भएको थियो । रकम अहिले हात परेकाले हात पर्ने वित्तिकै कोषका लागि सहयोग गर्नुभएको हो । कोषका लागि उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बुझ्नुभएको थियो । रकम प्राप्त र सहयोगको विषयमा भुसालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।

पारिवारिक भेटघाट र घुमघामका लागि करिब ६ महिनाअघि अमेरिका पुगेकी भुसालले सो क्रममा संकलित ४ लाख बढी रकम भने केहीअगाडि कोषका लागि दिनुभएको थियो । उक्त समय चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्रप्रसाद साँखीलाई दिनुभएको थियो ।

विगत ५ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रूपमा क्रियाशील भुसाल कोषको स्थापनाकालदेखि हालको संयोजक हुन् । कोषमा अहिले ४ करोड बढी रकम जम्मा छ । कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधि उपचार गरिदिने, आपत्कालीन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजक्रिया सहयोग गर्नेलगायत कार्य गर्दै आएको छ ।