सुटिङस्थलमा फोहोर थुप्रिएपछि स्थानीयको आक्रोश।

मुम्बई:= अभिनेता आमिर खान आफ्नो चलचित्र ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । यो फिल्मलाई उहाँ क्रिसमसमा रिलिज गर्न चाहनु हुन्छ । तर यो चलचित्र रिलिजअघि नै विवादमा तानिएको छ ।

यो चलचित्रको पछिल्लो सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो । चलचित्र युनिटले त्यहाँ फोहोर गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि अहिले भाइरल भइरहेको छ । यो भिडियो जिग्मत लद्दाखी नामक ट्वीटर प्रयोगकर्ताले पोष्ट गरेका छन् । जुन भिडियोमा उक्त गाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ ।

‘लद्दाखको वाखा गाउँवासीका लागि बलिउड स्टार आमिर खानले दिएको उपहार हो । जुन उपहार फिल्म ‘लाल सिंह चड्डा’ निर्माण युनिटले छोडेको हो । आमिर आफैं सत्यमेव जयतेमा पर्यावरणको सफाइ गर्नुपर्ने ठूला कुरा गर्छन् । जब आफ्नो कुरा आउँछ, अनि यस्तै हुन्छ’, उहाँले लेख्नु भएको छ । अर्का प्रयोगकर्ताका अनुसार लद्दाखको कारगिल जिल्लामा रहेको यो गाउँ हाल डम्पिङ साइटजस्तै भएको छ । जहाँ प्लाष्टिकका बोतल र फोहोर थुप्रिएको छ ।

समाचार अनुसार सन् २००६ मा रिलिज फिल्म ‘रंग दे वसन्ती’को समयमा यस्तै भएको थियो । फिल्म युनिटले नाहरगढ वन्यजन्तु आरक्षमा छायांकन गर्दा त्यहाँ वियरको बोतलको थुप्रो जम्मा भएको थियो । त्यसपछि स्थानीय युवाले त्यहाँबाट झण्डै तीन टन बोतल निकालेका थिए ।