फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए।

काठमाडौं:= राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक बन्द प्रशिक्षणमा परेकामध्ये १४ खेलाडी बाहिरिएको जनाएको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिमबाहिर राख्दै ३६ खेलाडी छनोट गरेको एन्फाले बुधबार विज्ञप्ति निकाल्दै जनाएको छ । प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाउनुभएको थियो ।

टिमबाट बाहिरिनेमा गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई रहनुभएको छ ।

१४ खेलाडी बाहिरिएपछि अब बन्द प्रशिक्षणमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ र त्रिदेभ गुरुङ बाँकी रहनुभएको छ ।

साफ च्याम्पियनसिप आयोजना भने अन्योलमा नै रहेको छ । बंगलादेशले यसअघि निर्धारित सेप्टेम्बर तेस्रो साताको समयमा आयोजना गर्न नसक्ने संकेत गरेको छ । बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले आयोजना गर्न दाबेदारी प्रस्तुत गर्ने तयारी पनि छ ।

बंगलादेशले आयोजना गर्न नसक्ने जनाएपछि नेपालले साफ आयोजनामा दाबी प्रस्तुत गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले बताउनुभयो । ‘नेपालसँगै श्रीलंकाले पनि दाबी प्रस्तुत गरिरहेको छ । जसले १० लाख डलर तिर्नसक्छ प्रतियोगिता उतै हुनेछ । त्यो पैसा जुटाउन हामीले सरकारसँग पनि अनुरोध गरिरहेका छौं,’ तुलाधरले भन्नुभयो, ‘आयोजना पाउने हिसाबले प्रारम्भिक तयारीहरू गरिरहेका छौं ।’

साफ आयोजनाका लागि नेपाल सरकारसँग साढे तीन करोड रुपैयाँ माग गरेको तुलाधरले बताउनुभयो । उहाँले साफ फुटबलको बजार मूल्य करिब १० करोड रहेको बताउँदै सरकार त्यसमा सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

यसै हप्ता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साफ फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने बताउनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिनुभएको थियो । उहाँले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशनसमेत दिनुभएको थियोे ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा ओलीले उपाधि जित्नका लागि कडा मिहिनेत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गर्नुभयो । ‘हामी साफ आयोजना गर्न सक्छौं, मनोबल उच्च बनाउनुस्,’ उहाँले भन्नुभयो ।

गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रंगशालामा प्रत्यक्षरूपमा अवलोकन गरेको सम्झना गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बंगलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताउनुभयो ।