टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरीकाले बोक्ने।

काठमाडौं:= जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नुहुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत् बुधबार टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउनुहुनेछ । सिंहले दोस्रोपटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी बन्दैछन् । उहाँले सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्यपदक प्राप्त गर्नुभएको थियो ।

टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउनुहुनेछ । सिंहले महिला १०० सय फ्रि स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा, परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौलसमूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनुहुनेछ ।

यस्तै प्रशिक्षकहरू पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्लसमेत टोकियो ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियलसहित कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रूपमा रहेको ओलम्पिकमा छनोट हुन पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताउनुुभयो । उहाँले भन्नुभयो, ‘ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्ड कार्ड’ मार्फत् छनोटमा पर्न सफल हुनुभएको छ ।

नेपाल खेलकुद परिषद्का सदस्य-सचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र संगीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्ड कार्डमार्फत् प्रतिनिधित्व हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा पौडी र एथलेटिक्समा दुई–दुईजना खेलाडी अनिवार्य गरेकामा यसपटक भने एथलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छौं ।’

जापानको टोकियोमै ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिताको मौका पाएको थियो । उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिनुभएको थियो । पहिलो प्रवेशको करिब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकुद कुम्भ मेलामा सहभागिता जनाउन पाउनु नै पनि राष्ट्रका लागि ठूलो प्रतिष्ठा हो ।

त्यसअघि सन् १९६० को रोम ओलम्पिकमा भने नेपालले एकजना पर्यवेक्षक पठाएको थियो । नेपाली ओलम्पिक्स इतिहासको उल्लेखनीय घटनाका रूपमा सन् १९६३ मा नेपालमा पहिलोपल्ट ओलम्पिक ज्योति ल्याइएको थियो । सन् १९६४ को टोकियोमा भएको १८औं ओलम्पिक खेलकुदमा ६ जना नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

म्याराथनमा दुई धावक गंगाबहादुर थापा मगर र भूपेन्द्र सिलवाल तथा बक्सिङमा नमिसिंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले उक्त ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । सन् १९७२ मा जर्मनीको म्युनिखमा सम्पन्न २०औं ओलम्पिकमा नेपालबाट धावक जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले भाग लिनुभएको थियो । यही ओलम्पिक्समा इजरायलका ११ खेलाडीको ओलम्पिक खेलग्राममा हत्या भएको थियो ।

२१औं मोन्ट्रियल ओलम्पिकमा नेपालका तर्फबाट एक्लो सहभागीका रूपमा वैकुण्ठ मानन्धरले म्याराथनमा नै सहभागिता जनाउनुभएको थियो । १९८८ मा सोलमा भएको २४औं ओलम्पिक्स भने नेपालका लागि ऐतिहासिक भयो । ओलम्पिकमा पहिलोपटक प्रदर्शनी खेलका रूपमा समावेश गरिएको खेल तेक्वान्दोबाट नेपालका विधान लामाले कास्य पदक जित्नुभएको थियो ।