छोरी जन्मिएपछि नवजात शिशुको परिवार नै मिलेर गरे हत्या।

विराटनगर:= मोरङमा एक परिवार नै मिलेर नवजात शिशुको हत्या गरेका छन् । श्रीमानको अनुपस्थितिमा बसेको गर्भबाट छोरी जन्मिएपछि रंगेलीमा दम्पती आमाबाबुसहित मावलीपट्टिका हजुरबुबा र हजुरआमाकै मिलेमतोमा शिशुको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आमाबाबु, हजुरबुवा र हजुरआमा मिलेर नवजात शिशुको हत्या गरेर गाडेको खुलेपछि उनीहरू सबैलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । श्रीमान् विदेश गएको समयमा गर्भ बोकेकी श्रीमतीले नवजात शिशुको जन्म दिएपछि त्यसलाई स्वीकार्न नसक्दा नवजात शिशुको हत्या गरिएको खुलेको हो ।

रंगेली नगरपालिका-५ आँपगाछी टोलका अरुण मण्डलको श्रीमती २५ वर्षीया खुस्बु मण्डलले दुईदिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् । त्यसपछि श्रीमान् २८ वर्षीय अरुण मण्डल, ससुरा ५० वर्षीय नागेश्वर मण्डल र सासू ४८ वर्षीया उर्मिला मण्डलले ब्लांकेटले शिशुको घाँटी थिचेर हत्या गरेर गाडेका हुन् ।

प्रहरीका अनुसार शिशुको हत्या सोमबार दिउँसो गरिए पनि वरिपरि कसैले थाहा नपाऊन् भनेर राति १ बजेतिर सुटुक्क गाडिएको पाइयो । ‘नजिकै रहेको चाँदनी चोकमा एउटा सानो टिनको छानोजस्तो घर रहेछ । त्यसमा मदिरा पसल पनि रहेछ । खुश्बु, खुश्बुका बुबाआमा र उनका श्रीमान् मिलेर शवलाई त्यहाँ लगेर गाडेका रहेछन्,’ मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार शवलाई खुश्बुसहित उनका श्रीमान् अरुण, उनका बुबा नागेश्वर र आमा उर्मिलाले संयुक्त रूपमा खाल्डो खनेर गाडेको पाइएको छ । घटनालाई जति लुकाउन खोजे पनि छरछिमेकले बच्चा जन्मिएको थाहा पाएपछि घटना प्रहरीसम्म पुगेको थियो । त्यसपछि खटिएको इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गाडिएको शव फेला पारेको हो ।

खुश्वुका श्रीमान् अरुण गत चैतमा मात्रै तीन वर्षपछि विदेशबाट घर फर्केका थिए । उनी फर्केको तीन महिनामै खुश्वुले बच्चा जन्माएकी थिइन् । त्यसपछि गर्भ स्वीकार गर्ने अवस्था नभएको भन्दै उनीहरूले ससुराली माइती पक्षसँगका आमाबुबासँग मिलेर नवजात शिशुको हत्या गरेका हुन् ।

इलाका प्रहरी रंगेलीले नवजात शिशुको हत्या भएको खबर पाएलगत्तै उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा रंगेली–५ स्थित चाँदनी चौकमा नागेश्वर र उर्मिलाले सञ्चालन गरेको मदिरा पसलभित्रै हत्यापछि खाल्डो खनेर गाडेको खुलेको थियो । प्रवक्ता श्रेष्ठका अनुसार अनुसन्धानपछि उनीहरू चार जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा पाँचदिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।