सुशासन, पारदर्शिता र सहजताको प्रतिबद्धता
काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले बुधबार पदभार ग्रहण गर्नुभएको छ । गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै गृहमन्त्री खाँडले कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने व्यक्तिहरूको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो । फ्रान्टलाइनरहरूको सुरक्षा गर्नु सरकारको दायित्व रहेको उल्लेख गर्नुहुँदै उहाँले व्यवस्थापन र प्रोत्साहन भत्ता दिनका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘फ्रन्टलाइनमा रहेका साथीहरूको सुरक्षाको व्यवस्था गर्ने दायित्व पनि राज्यको हो । हामीहरूले समुचित व्यवस्थापन गर्नुपर्दछ । आवश्यक ठाउँमा सरकारले बजेट व्यवस्थापन गर्ने, खर्च गर्ने, उनीहरूलाई समुचित प्रोत्साहित गर्न भत्ता दिने, उनीहरूको उपचारका लागि गम्भीर बन्ने, सम्बोधन गर्ने त्यो काम हामी सबैले मिलेरै गर्नुपर्छ सरकार त्यसमा गम्भीर नै हुन्छ ।’
उहाँले व्यवस्थापिका संसद्लाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भूमिका खेल्ने पनि बताउनुभयो । ओली सरकारले ल्याएका अध्यादेशहरूको सम्बन्धमा कस्ता–कस्ता अध्यादेशहरू ल्याएका छन् त्यस सम्बन्धमा पनि छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कस्ता कस्ता अध्यादेशरू छन् त्यसका बारेमा हामी छलफल गर्छांै । र हाम्रो चाहना छ यो व्यवस्थापिका संसद्ले बढीभन्दा बढी सक्रिय बनाउन सकियोस्, कानुन निर्माण गर्ने क्रममा । सरकारले राम्रै सोचेर लगेको होला तर त्यहाँ जनप्रतिनिधिहरूको बीचबाट अझै त्यो परिष्कृत भएर आउँछ । त्यो मुलुकको लागि पनि, जनताको लागि अझै बढी उपयोगी हुन्छ ।’
मन्त्री खाँडले केन्द्रीय विपत व्यवस्थापन कोषमार्फत् पूर्वी नवलपरासी जिल्लामा बाढीपहिरोबाट क्षति भएकाहरूलाई राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन कोषलाई तुरुन्तै २० लाख रुपैयाँ पठाउने गरी फाइलमा पहिलो हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी, ओली सरकारले ल्याएको बजेट कार्यान्वयनका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने बताउनुभएको छ । अध्यादेशबाट आएको बजेट कार्यान्वयनका सन्दर्भमा विज्ञहरूसँग छलफल गरेर मात्रै निर्णय हुने बताउनुभएको हो । बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने उल्लेख गर्नुहुँदै उहाँले, ‘विज्ञहरूसँग छलफल गर्छौं । प्रशासकहरूसँग सल्लाह गर्छौं र त्यसको सीमाहरू के छ, कानुनी प्रक्रियाहरू, संवैधानिक प्रक्रियाहरू के छन् त्यसको अध्ययन गरेर संवैधानिक, कानुनी र अहिलेको वस्तुस्थितिलाई ध्यानमा राखेरै हामी निर्णय लिन्छौँ ।’
यस्तै, अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै खोप खरिदका लागि पाँच अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गर्नुभएको छ । उहाँले कोरोना खोप खरिदका लागि पाँच अर्बको सहमति दिने, उहाँले आइसियु, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गर्नुभएको छ । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार अर्थमन्त्री शर्माले आइसियु, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जाने गरी प्रदेश र स्थानीय तहहरूलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । यसैगरी, निःशुल्क उपचार गराएका एवं विभिन्न भत्ताबापत सिर्जना भएको दायित्व व्यवस्थापनका लागि अर्थमन्त्री शर्माले संघीय अस्पताल र निजी अस्पतालहरूको हकमा ५६ करोड ४१ लाख ५७ हजार र प्रदेशका सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक र स्थानीय अस्पतालहरूमा जाने गरी ३७ करोड २४ लाख ९० हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
मन्त्री शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन पनि आग्रह गर्नुभएको छ । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता भएको मन्त्री शर्माले बताउनुभयो । मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्नुभयो । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीको रूपमा देखिँदै गएको बताउनुभएको छ । नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मुद्रा सञ्चितिको अवस्था राम्रो भए पनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताउनुभयो । नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक ब्रिफिङ गर्दै सचिव शिशिरकुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सके मात्र लक्ष्य गरिएको आर्थिक वृद्धि भेटाउन सकिने बताउनुभयो ।
यस्तै, नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालले परिणाम निकाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कसैसँग पूर्वाग्रह नराखी परिणाम आउने गरी काम गर्ने आफ्नो एक मात्रै स्वार्थ रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो ।’ उहाँले बिजुली नपुगेका ठाउँहरूमा बिजुलीको पहुँच चाँडो पु¥याउनुपर्ने पनि बताउनुभएको छ ।




















