यस्ताे रह्याे नवनियुक्त मन्त्रीहरूको पहिलो दिन।

काठमाडौं := नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री कार्कीले मंगलबार आआफ्नो मन्त्रालय पुगी पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा उनीहरूले नीतिगत निर्णय लिनुका साथै मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । नवनियुक्त गृहमन्त्री खाँणले पहिलो निर्णयका रूपमा पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका छन् । अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गर्नेलगायतका निर्णय गरेका छन् ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले काममा कुनै पनि पूर्वाग्रह नराखी परिणाममुखी काम गर्ने बताएकी छन् ।  मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू, सहसचिवसहितको बैठकमा बोल्दै देश र जनताको सपना पूरा गर्न आत्मसात् गर्दै राम्रो परिणाम निकाल्न सबैलाई लाग्न आग्रह गरेकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।