अमेरिकामा वसन्त र पृथु सम्मानित।

काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर वसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा अमेरिकामा सम्मानित हुनुभएको छ । वसन्त र पृथुलाई अमेरिका मेरिल्यान्ड राज्यले सोमबार सम्मानपत्रसहित सम्मान गरेको हो।

वसन्त र पृथुलाई मेरिल्यान्ड रान्यका डिस्ट्रिक्ट-८ का डेलिगेट (नेपाली संसाद सरह) का ह्यारी भण्डारीले सम्मानित गर्नुभएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदानलाई कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको हो।

हाल वसन्त र पृथु क्रिकेट खेल्न अमेरिका हुनुहुन्छ । यी दुवै क्रिकेटर अमेरिका घरेलु क्रिकेटमा व्यस्त हुँदै आउनुभएको छ । अघिल्लो हप्ता अमेरिकामा सम्पन्न एलए ओपन २०२१ च्याम्पियनसिप प्रतियोगितामा वसन्त र पृथुले नेपाली राइनोज अल स्टार्सबाट खेल्नुभएको थियो।

यसक्रममा अल स्टार्स क्वार्टरफाइनलबाट बाहिरिएको थियो । उक्त प्रतियोगितामा पृथुले कप्तानी गर्नुभएको थियो । पृथु समूह चरणको खेलमा प्रेरी भ्यु हरिकेन्सविरुद्ध ५६ बलमा ७ चौका र ३ छक्कासहित ७८ रनको अविजित इनिङ खेल्दै म्यान अफ द म्याच चुनिनुभएको थियो।

वसन्त र पृथु अमेरिका क्रिकेट बोर्डले आयोजना गर्न लागेको माइनर क्रिकेट लिग प्रतियोगिता पनि खेल्दै हुनुहुन्छ । वसन्त सिंगापुरमा २०१९ मा भएको आईसीसी टी–२० विश्वकपको एसिया छनोटपछि राष्ट्रिय टिममा पर्न सक्नुभएको छैन । यो बप्चमा उहाँले घरेलु प्रतियोगिता खेले पनि सिनियर टिममा भने स्थान बनाउन सक्नुभएको छैन।

अब वसन्तले खेल्न लागेको मिनोर क्रिकेट लिग प्रतियोगितामा कुल २४ टोलीको सहभागिता रहनेछ । जसका लागि हालसम्म १७ टिमको टुंगो लागिसकेको छ । वसन्तको टोलीसँगै उक्त श्रेणीमा इष्टबे ब्लाजेर्स, गोल्डेन स्टेट, हलिउड मास्टर्स ब्लास्टर्स, सान डिएगो सर्फ राइडर्स, सिलिकन भ्याली स्ट्राइकर्स, सोकल लासिङ रहनुभएको छ।

विभिन्न चार रिजनबाट ६ टिमलाई समावेश गरेर यो प्रतियोगिता गर्न लागिएको हो । अमेरिकी क्रिकेट संघले यो प्रतियोगिताका लागि विभिन्न निजी लगानीकर्तालाई पनि भित्र्याएको छ।

यो प्रतियोगिताको ड्राफ्टका लागि २४ सयभन्दा बढी खेलाडीले नाम दर्ता गरेका थिए । त्यसमा ३०६ जना १७ वटा टिममा छनोट भएका छन् । यो प्रतियोगिता जुलाइको अन्तिममा हुनेछ।

पृथु १०१५ को स्कटल्यान्ड भ्रमणदेखि नेपाली टोलीमा हुनुहुन्न। पृथुले गत माघमा काठमाडौंमा भएको प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट उच्च प्रदर्शन गर्दै टोलीको बन्द प्रशिक्षणमा पुनरागमन गर्नुभएको थियो । तर, दुर्भाग्य कोरोनाका कारण सिरिज स्थगित हुन पुगेको छ।