विवादित काम
- असंवैधानिक बाटोबाट दुई पटक संसद् विघटन
- सभामुखसँग भएन सुमधुर सम्बन्ध
- संसद् अधिवेशन बन्द गरी अध्यादेशबाट देश चलाउने प्रयास
- संवैधानिक नियुक्तिमा संसद् छलियो
- विकास आयोजना पूरा नहुँदै उद्घाटन गर्ने हतारो
- भ्रष्टाचार नियन्त्रणमा असफल
- मन्त्रीका सम्पत्ति सार्वजनिक भएन
- पटक-पटक मन्त्रिमण्डल हेरफेर
- संघीयता कार्यान्वयन गर्न नखोजेको आरोप
राम्रा काम
- लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक
- नेत्रविक्रम चन्द, सिके राउतलगायतलाई शान्तिपूर्ण वार्तामा ल्याएको
- मेलम्चीको सफल परीक्षण
- भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा
- कोरोना भाइरसविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सफल
- धरहरा, रानीपोखरीलगायतका पुरात्वात्विक संरचना पुनर्निर्माण
- एकैदिन मुलुकका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास
- सगरमाथाको उचाइ मापन
- पारवाहन सम्झौता, सुरुङमार्ग र सडक विस्तार
‘शान्ति, स्थायित्व र समृद्धिका लागि हामीलाई मतदान’ भन्दै ०७४ सालको निर्वाचनमा संयुक्त रूपमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आम जनतामाझ गएका थिए । उनीहरूलाई जनताले करिब दुईतिहाई मत प्रादान गरे । जनतामा एकखालको उत्साह थियो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । झण्डै दुईतिहाइको सरकार आफ्नो कार्यकाल पूरा गर्न सकेन । यो नेपाली राजनीतिको विडम्बना नै भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
यो बीचमा पार्टीभित्रै अलग समूह सशक्त रूपमा प्रस्तुत भयो भने सर्वोच्चको आदेशमार्फत माओवादी एकता केन्द्रसँगको एकता टुट्न गयो । मंगलबार सिंहदरबारमा सम्बोधन गर्दै ओलीले आफूलाई काम गर्न नदिए पनि जनअपेक्षाअनुसारको उत्कृष्ट काम गरेको दाबी गर्नुभएको छ । अनकौं प्रतिकूलताका वावजुद पनि उत्कृष्ट काम गरेको उहाँले बताउनुभयो । तर, कतिपयले ओली कार्यकाल पूर्णतः असफल, निरंकुुश र प्रतिगामी रहेको तर्क गरेका छन।
विसं २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर शान्ति, समृद्धि र स्थायित्वको मूल चुनावी घोषणापत्रको प्रतिबद्धतासहित निर्वाचनमा होमिएका थिए । जनताले सोही गठबन्धनलाई करिब दुईतिहाइ मत दिएर सरकारमा पु¥याए । तर, विडम्बना, एउटा पूर्ण कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरण पनि नसकिँदै दुवै समूह दुईतिर छिन्नभिन्न हुन पुगे । जसले गर्दा मूलुक अन्योलको भुमरीमा फस्न पुग्यो । यस्तो परिस्थितिमा सरकारको काम कारबाही पूर्णरूपमा प्रभावकारी हुने त कुरै भएन।
पार्टीभित्रको आन्तरिक किचलोकै कारण विघटन गरिएको प्रतिनिधिसभा दुई-दुई पटक विघटन गरियो । यसविरुद्ध सर्वोच्चमा परेको रिटमा प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर हुन पुग्यो । दोस्रो पटकको संसद् विघटनमा उहाँको बहिर्गमन नै भयो।
सरकारका कमजोरीहरू
सरकार गठनलगत्तै सरकारले यातायात सिण्डिकेट खारेजीको निर्णय ग¥यो । सरकारलाई विवादमा ल्याउने अर्को प्रकरण गुठी रह्यो । त्यसका विरुद्धमा काठमाडौंमा ठूलो प्रदर्शन भयो । यस्तै, बालुवाटार जग्गा प्रकरणले निकै चर्चा पायो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटालाले पनि चर्चा पाइरह्यो।
आम जनता कोरोना कहरमा रहेका बेला सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो । यो अध्यादेशको पनि चौतर्फी विरोध भयो । सांसद् अपहरणको आरोपसमेत सरकारपक्षीय नेताहरूलाई लाग्यो । शान्ति सुरक्षा दिन नसकेको भन्दै सरकारको विरोध भइरह्यो । कञ्चनपुरकी बालिका निर्मला पन्तदेखि अन्य यस्ता घटनाको निरूपण हुन सकेन।
केही घटनाका आरोपी समातिएको भए पनि निर्मला पन्त घटनामा सरकार नराम्रोसँग चुकेको देखिन्छ । अझैसम्म यो घटनाका दोषी कानुनको कठाघरमा आउन सकेका छैनन् । यस्तै, सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनको भिडियोले पनि चर्चा पायो । सरकारले रेल, पानीजहाजका ठूल्ठूला सपना बाँडेर जनतामा आशा जगाए पनि सर्वसाधारणका दैनिक जनजीविकाका मुद्दामा भने आशातीत सफलता प्राप्त हुन सकेनन्।
सरकारका उपलब्धिहरू
ओली सरकारलाई आफ्नै पार्टीबाट पूर्ण रूपमा कार्य गर्न नदिए पनि केही महत्वपूर्ण कार्य भने भएका छन् । आफ्नै पार्टीभित्रैबाट र बाहिरबाट समेत तमाम अवरोधको सामना गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा भने सरकार डटेर लाग्यो । यसका लागि सरकारले थुप्रै काम गरेको छ।
ओली सरकारको सबैभन्दा महŒवपूर्ण गर्व गर्नलायक काममा अतिक्रमित भूमि समेटेर नेपालको नक्सा प्रकाशित गर्नु रहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नु ओली नेतृत्वको सरकारले गरेको महŒवपूर्ण ऐतिहासिक उपलब्धि हो।
ओम्नी जस्ता केही विवादका घटना सार्वजनिक भए पनि कोरोना भाइरस नियन्त्रण र रोकथाम तथा खोप कूटनीति र खरिदमा सरकारको काम गतिशील र उत्साहजनक रह्यो । कोरोनाविरुद्धको खोप सम्पूर्ण नेपाली नागरिकहरूलाई निःशुल्क लगाउने कार्यगति अति प्रशंसनीय र जनमुखी देखिन्छ।
त्यसैगरी सरकारका महŒवपूर्ण कार्यमा एकैदिन मुलुकका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल र सातै वटै प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास निर्माणकार्यको थालनी नेपालको स्वास्थ्यक्षेत्रको इतिहासमै पहिलोपटक हो । ओलीको कार्यकालमा सगरमाथाको उचाइ मापन पनि महत्वपूर्ण घटना थियो।
नापीविज्ञ खिमलाल गौतमको नेतृत्वमा नेपालले सगरमाथाको उचाइ पहिलोपटक नापेको हो । यस्तै, भूकम्प पुनर्निर्माण अन्तर्गत कैयौं आवास घर तथा ठूला पूर्वाधार र सम्पदाहरू तयार भए । सरकार गठन भएपछि प्रतिदिन करिब पाँच किलोमिटर भन्दा बढीका दरले कालोपत्रे सडक निर्माण भए । तुइन विस्थापित गरी झोलुगेपुल निर्माण ओली सरकारका महŒवपूर्ण उपलब्धि रहेका छन्।
मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतको अवतरण पनि महत्वपूर्ण घटना थियो । यस्तै, राष्ट्रीय सुरक्षा चुनौती बनेका नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि उहाँले मूलधारमा ल्याउनुभयो । ओलीले विभिन्न पिरियोजनाका उद्घाटन पनि गर्नुभयो । पुनर्निर्माण भएको धरहरा ओलीले उद्घाटन गर्नुभयो । मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी उहाँकै पालामा पूरा भएको भयो।
योगदानमा आधारित समाजिक सुरक्षा योजना अनि साना किसानको ऋण मिनाहासम्मका कार्यक्रम र योजना ओली सरकारका ऐतिहासिक उल्लेख्य कदमहरू रहेका मान्न सकिन्छ। कामदार, रोजगारदाता र सरकारको योगदानका कारण श्रम गरेको व्यक्तिले ६० वर्षपछि पेन्सन पाउने व्यवस्था वास्तवमा श्रम क्षेत्रमा ‘नयाँ युगको सुरुवात’ नै हो । सामाजिक सुरक्षा कार्यक्रमलाई २०५१ सालमा कम्युनिष्ट सरकारले ल्याएको वृद्ध भत्तापछिकै लोकप्रिय कार्यक्रम भन्न मिल्छ । सामाजिक भत्ताको थप वृद्धिले उत्साह ल्याउन सफल भयो।
यस्तै पूर्व–पश्चिम तथा उत्तर–दक्षिण रेल–वे सेवा विस्तारको काम अघि बढ्यो । रक्सौल–काठमाडौं तथा केरुङ-काठमाडौं रेल-वेको विस्तृत सर्भेक्षण अघि वढेको छ भने पूर्व-पश्चिम रेलको निर्माणको कार्य, पानीजहाज सञ्चालनका लागि कानुन निर्माणसँगै आवश्यक पूर्वाधार तयारी, रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माण भई निर्वाध र नियमित रूपमा पेट्रोलियम आपूर्ति, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार, सरकारले दिने सेवा अनलाइनबाटै गर्न सकिने व्यवस्था सहितको नागरिक एप सञ्चालन, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था, सुन तस्करीमा ब्रेक, चीनसँग पारवाहन सम्झौता, सुरुङमार्ग र सडक विस्तारलगायतका कार्यक्रमहरू ओली सरकारको महत्वपूर्ण उपलब्धि नै हो।
निर्वतमान प्रधानमन्त्री केपी शर्माले जतिखेर पनि जनतामा आशा र आकांक्षा जगाइरहनुभयो । नेपालको समृद्धि र विकासका लागि उहाँले देखाएको सपना सामान्य हैन । मुलुकको सुदूर भविष्यका लागि सही मार्गदर्शन र अपरिहार्य आवश्यकता रहेका छन्।
अनेकौं व्यवधान र तमाम चुनौतीका बीचमा पनि आफ्नो क्षमता, स्रोत र अवस्थाले भ्याएसम्म ओली सरकारले जनताको पक्षमा काम गरेको राजनीतिक विशेलषकहरू बताउँछन् । यो सरकारबाट जनताले ठूलै आशा राखेका थिए । तर, त्यो आशा र आकांक्षा पार्टीभित्रकै आन्तरिक झगडा र पदीय महात्वाकांक्षाले पूरा भने हुन सकेन।




















