काठमाडौं:= नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू परिवर्तन भएपछिको असर खेलकुदमा पनि परेको हो।
सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दै नयाँ सरकार गठनको परमादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनमा परेको थियो । ओलीसँगै खेलकुद मन्त्रीसमेत रहनुभएका कृष्णगोपाल श्रेष्ठ हटेपछि आइतबारका लागि तय भएको राखेप बोर्ड बैठक स्थगित भएको हो । बहालवाला खेलकुद मन्त्री राखेपको अध्यक्ष हुने प्रावधान छ । अध्यक्ष नै नरहने अवस्था सिर्जना भएपछि बैठक स्थगित गरिएको हो।
राखेपका सदस्य-सचिव रमेश सिलवालले अध्यक्ष नै नरहेको अवस्थामा बोर्ड बैठक बस्न नसक्ने बताउँदै तत्काललाई स्थगित गरिएको र नयाँ मन्त्रीको आगमनसँगै बैठकको नयाँ मिति सार्वजनिक गरिने बताउनुभयो । दुई वर्षअघि नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि राखेपको बैठक बस्न सकेको छैन।
यसपल्ट कोरोना महामारीको असर केही कम भएकाले खेलकुद मन्त्री श्रेष्ठसँगको सल्लाहमा ३० गतेका लागि बैठक आह्वान गरिएको थियो । त्यसका लागि राखेपका सबै सदस्यहरूलाई जानकारीसमेत गराइसकिएको थियो।
बैठकका वार्षिक बजेट र कार्यक्रम पास गर्ने तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना मुख्य एजेण्डाका रूपमा थिए । सोमबार अदालतको आदेशसँगै बोर्ड सदस्यलाई पनि बैठक स्थगितको सूचना जानकारी गराइसकिएको छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएको थियो । ऐनले राखेप बोर्ड बैठक वर्षको कम्तीमा दुईपटक बस्नुपर्ने उल्लेख गरेको छ । तर, ऐन आएको वर्ष दिन पूरा भए पनि बोर्ड बैठक बस्न सकेको थिएन।




















