[ सिताराम ओझा / प्रदीप पाठक ]
सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार
हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार ।
कहिले पाटन रंगीचंगी भुइँफूलले ढाकिन्छन्
कहिले पूरै पाटन हिउँ नै हिउँले छोपिन्छन् ।
कहिले सात थरी लालीगुराँस फुल्छन्
प्रकृतिका रंगहरू प्रकृतिकै काखमा डुल्छन् ।
जो पनि खप्तडको सौन्दर्यताले मोहित हुन्छन् ।।
माथि उल्लेख गरिएका हरफहरूले मात्रै केही सौन्दर्यता वर्णन गरेको हो खप्तडको । जता हे¥यो उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू । कार्पेट ओछ्याएझैं थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रंगीविरंगी पुतलीहरू । चारैतिर कलमी गरेझैं लाग्ने घना जंगल र जंगलभित्र नौरङका लालीगुराँस । अनि, सुगन्धित जडीबुटी र हरिया घाँसेमैदान । डोटी, अछाम, बझाङ र बाजुराको संगम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन् । त्यही हरियो पाटनमा लडीबुडी खेलिरहूँझैं लाग्छ । छिनमै वर्षात् र छिनमै हिउँ । केहीबेरमै मान्छे उडाउलाझैं हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम । अलि लम्किँदा छोइएलाझैं लाग्ने हंसमुख हिमालहरू । खप्तड बाबाको कुटीको ठीक पछाडि उभिरहेझैं देखिने अपि र सैपाल हरदम हाँसिरहेझैं लाग्छ ।
खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैंचाका रूपमा पनि चिनिन्छ । खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन । यसैले पर्यटकहरू कमै पुग्छन् । तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो । यो अनकन्टार ठाउँमा छ । यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्ण प्रायः छ । लाग्छ, यहाँ मानव द्वेष, लालच र भोकको कणहरूसमेत छैनन् ।
प्राकृतिक सौन्दर्यता थरीथरीका
प्राकृतिक नागढुंगा, केदारढुंगा, पुराना मठ-मन्दिर, बागबुट्टे निगालो, पाँचऔंले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ । डाँफेकोट, घोडा दाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो । तीन हजार दुई सय मिटर उचाइमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ । पाटनहरू हिउँले सेताम्मे हुन्छन् । सानो हावाको झोक्कामा पनि सुसेरा हालेझैं गर्ने रानीसल्ला, बाँच, नौरंगी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन् । चार रैथानेसहित १३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैंचा हो । नेपालमा पाइने सात सय मुख्य जडीबुटीमध्ये २२४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौठो संग्रहालयमा ५६७ प्रजातिका वनस्पति र विभिन्न २७० जातका चराचुरुंगी छन् । खस्रे भ्यागुता र बझांगे पा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगालो पाइने यो नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन् । यो १७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो । यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो ।
प्रकृतिको धेरै उपहार एकै थलोमा
पारिपट्टि नजिकै जसरी लहरै हिमशृंखला । यता वारि फराकिला पाटनमा तपतप चुहिने सेताम्मे हिउँ । मधुर स्वरमा चिरबिर गर्दै भुर्रभुर्र उड्ने चरा । जिस्क्याएझैं गरी झाडी र पाटनमा लुकामारी खेल्दै आगन्तुकहरूलाई स्वागत गर्ने मृग एवं कस्तूरी । अञ्जुलीमा उठाएर पिउँदा अमृत बिर्साउने कञ्चन अनि कलकल बग्ने खोलाको पानी । कतै पहाड, कतै खोंच, कतै पाटन अनि सिमसार । सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने भूस्वर्ग खप्तडले अनेकौं विविधता बोकेको छ । वास्तवमा खप्तड अलौकिक छ । सुन्दर छ । अनुपम छ । धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक सबै हिसाबले अद्वितीय छ । खप्तडमा सिजनअनुसार जंगली फूल, हिउँ फूल तथा हिमाल हेर्न पाइन्छ । अपी र साइपाल हिमाल प्रस्टै देखिन्छन् । अन्य थुप्रै हिमशृंखला खप्तडको समानान्तर देखिँदा मन प्रफुल्ल हुन्छ । यहाँका फराकिला ठूला पाटनले बेलायतको घाँसेमैदानलाई बिर्साउँछ । खप्तडमा वर्षभरि घुमे पनि अघाइँदैन । दुर्लभ जीवजन्तु, वनस्पति एवं अनुपम प्राकृतिक छटायुक्त खप्तडले भूस्वर्गको उपमा त्यसै पाएको होइन । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले खप्तड घुमफिरपछि लेखेका छन्, ‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो खप्तड ।’ थरीथरीका फूल फुलेर रंगीन हुने खप्तडका पाटनको दृश्य उत्तिकै लोभलाग्दो हुन्छ । महँगो अत्तर बिर्साउने फूलको मगमग वासनाले खप्तड पुग्ने जोसुकैको आँत हरर्र बनाइदिन्छ । चैतदेखि कात्तिकसम्म फूलैफूलले ढाकिने खप्तड हिउँदमा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश रोमाञ्चक भइदिन्छ । पर्यटकहरू खप्तडमा जुनसुकै बेला रमाउन सक्छन्, खप्तडबाट प्राकृतिक प्रेम सिक्न सक्छन् ।
वनस्पति तथा जडीबुटी छन् अथाह
०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २२५ वर्गकिलोमिटर छ । निकुञ्ज कार्यालयका अनुसार यो निकुञ्जअन्तर्गत वन क्षेत्र १९९ दशमलब ७३, घाँसेमैदान १३ दशमलब ४७, कृषि भूमि ९ र झाडी बुट्यान २ दशमलब ८० वर्गकिलोमिटर छ । यहाँ ५२ पाटन (चौर), ५३ थुम्का तथा २२ वटा दह छन् । खप्तडमा ३८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन्, जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा ८ र उन्यू १९ प्रजातिका छन् । यो क्षेत्र कालकूट, पाँचऔंले, नीरमसीजस्ता जडीबुटीको भण्डार मानिन्छ । लेकसल्लो, भोजपत्र, खरु, गुराँस, रानीसल्लो, उत्तीस, महुवा, लौठसल्ला आदिका रूख–वनस्पति पनि त्यहाँ पाइन्छन् । १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप तथा ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तूरी, चितुवा आदि जनावर खप्तडमा उपलब्ध हुन्छन् । कस्तूरी मृग, चरीबाघ तथा ब्वाँसो जस्ता संरक्षित जीव खप्तडका सम्पत्ति नै हुन् ।
पौराणिक महत्व बोकेको भूमि खप्तड बाबाको ध्यान भूमि
खप्तडको धार्मिक एवं पौराणिक महत्व छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । खेचर शब्द अपभं्रश हुँदै जाँदा खप्तड भएको स्थानीय बासिन्दाहरू बताउँछन् । पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताहरू गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराण आदि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । देवीदेवता एवं सिद्धहरूको क्रीडास्थल खप्तड ऋषिमुनिहरूको पनि तपस्थल हो । युधिष्ठिर र पाण्डव पनि यतैबाट स्वर्ग गएको पौराणिक मान्यता छ । खप्तडको त्रिवेणी धाममा लाग्ने गंगा दशहरा मेला भरे मोक्ष प्राप्त हुने जनविश्वास छ । सहस्र लिंग, केदार ढुंगा, नागढुंगा, भुदेउ ढुंगालाई शिव स्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ ।
घोडादाउने पाटनको पूर्वमा करिब ११ हजार फिटको उचाइमा खप्तड बाबाको कुटी छ । बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्रीका अनुसार माझको झुत्ती भन्ने ठाउँमा अवस्थित यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि निर्माण गरिदिएका थिए । स्लेटले छाएको यो कुटीमा योग साधना कक्ष, गर्भगृह तथा तप योग कक्ष आदि छन् । खप्तड स्वामीले त्यहाँ झण्डै ५० वर्ष साधना गरेका थिए । सुदूरपश्चिमको परम्परागत शैलीमा निर्माण गरिएको उक्त कुटीमा खप्तड बाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका तथा अध्ययन गरेका पुस्तकलगायत अरू विभिन्न सामग्री अहिले पनि सुरक्षित छन् ।
धार्मिक महत्व बोकेको तपोभूमि
वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दुहरूको पवित्र तीर्थस्थान मानिन्छ । यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्र लिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिकस्थलहरू निकै प्रख्यात छन् । पुराणअनुसार महादेवले खप्तडको जडीबुटी प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू सदियौंदेखि प्रचलित र प्रख्यात छन् । हरेक ज्येष्ठ शुक्लपक्षको गंगा दसहरा तिथिमा यहाँ ठूलो मेला लाग्छ । हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक पुग्छन् र त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्दछन् ।
वर्षभरि नै घुम्न मिल्ने गन्तव्य
अध्यात्म, योग र ध्यान गर्नलायक गन्तव्य हो खप्तड । खप्तडको प्रचारमा खप्तड बाबाको योगदान ठूलो छ । जीवनको लामो कालखण्ड उनले त्यहाँ विताएका थिए । योग, ध्यान र साधना गरेर बसे उनी । जाडोमा उनी तराई झर्थे, अरू बेला खप्तडमै बिताउँथे । उनलाई भेट्न राजा वीरेन्द्र हेलिकप्टरमा खप्तडै पुग्थे । ठूल-ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य । प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ । तनाबबाट मुक्ति मिल्छ । वर्षैभरि घुम्न सकिन्छ खप्तडमा । जेठ-असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस-माघमा हिउँ र चैत-वैशाखमा गुराँसको उज्यालो छाउँछ खप्तडमा । त्यस क्षेत्रबाट अपि सैपालमात्रै होइन, केही भारतीय हिमाल पनि देखिन्छ ।
आवश्यक छ पूर्वाधार र सडक
माल पाएर पनि चाल पाएका छैनौं हामीले । खप्तडजस्तो पवित्र भूमिलाई पर्यटकीय गन्तव्य बनाउन धेरै काम गर्न बाँकी छ । सँगै पदमार्ग स्तरोन्नति, होटल सुविधा र ठाउँठाउँमा आराम गृह जरुरी छ । खप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालयअन्तर्गत खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन । खप्तड पर्यटन विकास समितिका निर्देशक भीम खड्का यो क्षेत्रमा पूर्वाधार विकासको काम भइरहेको बताउनुहुन्छ । ‘पछिल्लो समय खप्तडमा पूर्वाधार विकास भइरहेको छ । खप्तड क्षेत्रमा १५० जनाका लागि आवास हुने दुई ठाउँमा संरचना बन्दैछन् भने सडक सञ्जाल जोड्ने तयारी गर्न प्रदेश सरकारले योजना अगाडि सारेको छ,’ खड्काले भन्नुभयो । ‘यसको प्रचारप्रसारका लागि यस वर्ष कार्यक्रम तय भएको छ,’ खड्काले भन्नुभयो, ‘पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले थप जोड दिनुपर्छ ।’
सुदूरपश्चिममै छ खप्तड धर्तीको भूस्वर्ग
२२ पाटन, ५२ झोतीको संगमको गरौं गर्व ।
पूर्वाधारको कमी छ अब गरौं खप्तडको विकास
सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनको यही हो ठूलो आश ।।




















