अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार आउने।

काठमाडौं:= कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको जे एण्ड जे भ्याक्सिन सोमबार नेपाल ल्याइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी शनिबार दिउँसो दिनुभएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एण्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाण्डु आइपुग्ने भएको छ । युएस सरकार तथा पहलकर्ता सबैलाई धन्यवाद ।’

थप खोप ल्याउन सरकारले पहल गरिरहेको जानकारी पनि उहाँले दिनुभएको छ । अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ ।

दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताउनुभएको छ । ‘नेपाली जनतालाई  अमेरिकाको दशकौं पुरानो प्रतिबद्धताअनुसार र कोभिड १९ संकटमा रहेको नेपाललाई जारी सहयोगको विस्तारअनुसार, हामीले १५ लाख जोन्सन एण्ड जोन्सनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भन्नुभएको छ, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवनरक्षा गर्ने एकल उद्देश्य उपहार हो ।’

यसैबीच सरकारले चीनसँग ४० लाख भेरोसेल खोप किन्ने सम्झौताअनुसार आठ लाख डोज खोप शुक्रबार नेपाल ल्याइएको छ । एक पटकमा १० लाख डोज खोप ल्याउने तयारी भएपनि जहाजमा ठाउँ नपुग्दा आठ लाख मात्र खोप ल्याइएको बताइएको छ ।

अमेरिकाबाट आउने १५ लाख ३४ हजार ८५० र चीनबाट खरिद गरिएको ४० लाख डोज खोपले थप ३५ लाख ३४ हजार ८५० नागरिकलाई खोप लगाउन सकिने छ । अमेरिकाबाट ल्याइने जोन्सन एण्ड जोन्सनको खोप एक मात्र लगाए पुग्छ भने भेरोसेल खोप दुई मात्रा लगाउनुपर्छ ।

थप २१ सय ६९ जनामा संक्रमण, २२ को मृत्यु

शनिबार थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५३० जनाको पिसिआर परीक्षणबाट एक हजार ३५३ र तीन हजार ८८७ जनामा गरिएको एन्टीजेन परीक्षणमा ८१६ जना गरी जम्मा दुई हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र दुई हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा शनिबार थप ४०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३०३ , ललितपुरमा ६० र भक्तपुरमा ४१ जना छन्। नेपालमा पछिल्लो समय संक्रमण दर २०.८२ प्रतिशत छ भने सक्रिय संक्रमित प्रतिशत ४.०५ प्रतिशत छ ।

यस्तै, थप एक हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ । निको हुने दर ९४. ५ प्रतिशत रहेको छ।शनिबार थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ३६२ ुगेको छ