एजेन्सी (कान्दहर):= अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिबान लडाकुहरु मारिएका छन्। देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो। सो घटनामा अरु आठजना घाइते भएका थिए। शुक्रबार बिहान लडाकुहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकुको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्। अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ। लगातारका ठूला–ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
त्यसैगरी, लाखौँ अफगानीहरु विस्थापित भएका छन्। लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहे पनि अन्त्य हुन भने सकेको छैन ।




















