काठमाडौं:= नेपाली चलचित्रकी अभिनेत्री जेनी कुँवरले बिहीबार आफ्नै अपार्टमेन्टमा आत्महत्या गर्नुभएको छ । राति ९ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जेनीले आत्महत्या गरेको खुलाएको छ । जेनी विगत एक वर्षदेखि डिप्रेसनमा रहेको बताइएको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ समेत भेटाएको थियो ।
जेनी सनराइज सिटी अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान्को साथमा बस्दै आउनुभएको थियो । जेनी भान्साकोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँले एक वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको थियो । ६ महिना उहाँ विपश्यना ध्यान शिविरमा समेत बस्नुभएको थियो । घटनापछि प्रहरीले कुँवरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो ।
जेनीले चलचित्र ‘जिन्दगानी’ बाट अभिनय करिअर सुरु गर्नुभएको थियो । त्यसयता ‘मैदान, जीवनदाता, कानुन, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी चलचित्रमा काम गर्नुभएको थियो । उहाँले केही वर्षयता अभिनयबाट विश्राम लिनुभएको थियो । पछिल्लो समय उहाँले अधिकांश समय पशुपति परिसरमा बिताउने गर्नुभएको थियो । उहाँका दुई छोरी र श्रीमान् छन् । दुई छोरी अमेरिका र अष्ट्रेलियामा रहेका छन् ।
जेनीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारअगाडि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि चलचित्र क्षेत्रका विभिन्न कलाकार, प्राविधिक, निर्माता, निर्देशकहरू पुग्नुभएको थियो ।




















