काठमाडौं:= नेपाली कला क्षेत्रमा फेरि एउटा विवाद चर्किएको छ । सेलिब्रेटीका कुनै न कुनै विषयले चर्चा पाइरहने यो क्षेत्रमा अहिले फेरि कलाकार दुर्गेश थापा र गरिमा शर्माबीचको एउटा विषय खुबै चर्चित बनेको छ । टिकटक एपमा एकछिनको रमाइलोका लागि खेलेको ‘गेम’ ले गरिमालाई रुवाएको छ । थोरै क्लिप भाइरल भएपछि तनाव सिर्जना भएको छ । कलाकार गरिमाले एपी वानबाट प्रसारण हुने कार्यक्रम रजतपटले आफ्नो चरित्रहत्या गरेको आरोप लगाउनुभएको छ ।
गरिमाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमले आफ्नो चरित्रहत्या गरेकोप्रति गम्भीर आपत्ति भएको जनाउनुभएको हो । विज्ञप्तिमा लेखिएको छ, ‘म केही समयदेखि कलाकारितामा छु । यो क्षेत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोसिस गर्दागर्दै पनि जबर्जस्ती विवादमा तानिन्छ । यसै सन्दर्भमा हिजो अर्थात् असार २४ गते साँझ एपीवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो विषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भीर आपत्ति प्रकट गर्दछु ।’
गरिमाले आफ्नो विज्ञप्तिमा अगाडि भन्नुभएको छ, ‘नेपाली कला क्षेत्र र कलाकारहरूलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोताले नै भ्रमित सामग्री प्रसारण गरी कलाकारहरूलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भत्र्सना पनि गर्छु ।’ गरिमाले केही दिनअगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसोठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामग्री प्रसारण गर्नु सरासर गलत भएको बताउनुभएको छ ।
‘उक्त संवाद कसरी सुरु भएको थियो र के सिलसिलामा थियो भन्ने सप्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु, तसर्थ त्यो हेरिसकेपछि थप प्रष्ट हुनेछ,’ गरिमाले भन्नुभएको छ, ‘उक्त सामग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँग टेलिफोन सम्पर्क भई सामान्य विषय रहेको र हाँसोठट्टामात्र रहेको भनी सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपूर्ण समाचार प्रसारित गर्नुले ममाथि गम्भीर अन्याय भएको महसुस गरेकी छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न बाध्य भएको बेहोरा पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छु ।’
‘यसखालको भ्रामक र बदनियतपूर्ण खबरलाई विश्वास नगरिदिनुहुन म आमदर्शक र शुभेच्छुकहरूमा अपिल गर्दछु,’ गरिमाले विज्ञप्तिमार्फत् आफूलाई परेको अन्यायका विरुद्धमा आवाज बुलन्द पारिदिन सबैमा अनुरोध समेत गर्नुभएको छ । रजतपटको बिहीबारको कार्यक्रममा कलाकार दुर्गेश थापा तथा कलाकार गरिमा शर्माबीच टिकटक लाइभका क्रममा भएको ‘सुन्नै नसकिने’ सामग्री भन्दै उहाँहरूको कुराकानी तथा सम्बन्धमा आधारित विषयवस्तु प्रसारण भएको थियो ।


















