नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण आवश्यक: प्रधानमन्त्री ओली।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण (रेनासाँ) आवश्यक रहेको बताउनुभएको छ । सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवनयापन मै अलमलिएछौं, पुस्तौं गएछ।’

उहाँले आ–आफ्ना सिर्जनाहरूले सामाजिक उत्थानका लागि योगदान गरून् भन्नेमा ध्यान दिन पनि सर्जकहरूलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाए पो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।’

कलाका जुनसकै विधाले पनि नेपालीहरूको एकता मानवता र शान्तिको भावना प्रतिविम्बित गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडि परेको उहाँको भनाइ थियो । ‘पछाडि पर्न हँुदैनथ्यो परेछौं, पर्न मान्न हुँदैनथ्यो, मानेछौं । गरिब हुन मानेछौं, अनपढ हुन मानेछौं, उहाँले भन्नुभयो । अन्यथा विश्वमा कसैका पूर्वजभन्दा नेपालका पूर्वज ज्ञान र कलामा अग्रणी भएको भनाइ उहाँको थियो ।

‘गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो’, उहाँले थप्नुभयो । शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उहाँले भन्नुभयो, ‘राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन् ।’ साथै महाभारतको लडाइँ कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांख्य दर्शनसम्मको इतिहासले नेपाल आदि ज्ञान भूमि भएको पुष्टि गर्ने भनाइ उहाँको थियो ।

वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुनेसमेत उहाँले बताउनुभयो । दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकिरहेको विचार उहाँको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उहाँले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइन जस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताउनुभयो । यद्यपि विगतका शासकको सोचाइका कारण कतिपय कुप्रथासमेत चल्दै आएको तर त्यसैलाई विगतको समग्र ठान्नु नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा यसवर्षको राष्ट्रिय प्रतिभा पुरस्कार भाषा साहित्यतर्फ गोपीकृष्ण गौतम, संगीत तथा नाट्यतर्फ मदनकृष्ण श्रेष्ठ, संस्कृतितर्फ कैलाश प्याकुरेल, ललितकलातर्फ हरिप्रसाद शर्मालाई प्रदान गरियो । यसैगरी, महाकवि देवकोटा पुरस्कार पाँच जनालाई, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार दुई जना सर्जकहरूलाई प्रदान गरिएको छ ।