भ्वाइसको बिजेता छान्ने अधिकार दर्शकको हातमा।

काठमाडौं := गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् । नकआउट राउण्डबाट चारजना कोचले उत्कृष्ट तीन–तीनजना प्रतिस्पर्धी छानेर लाइभ राउण्डका लागि १२ प्रतियोगी चयन गरिएको हो ।

फाइनल भिडन्तका लागि छानिएका १२ मध्येबाट एक विजेता छान्ने अधिकार दर्शकमा दिइएको छ । दर्शकका लागि भोटिङ राउण्ड खुला गर्दै आयोजकले यो अधिकार दिएको हो । ब्लाइण्ड अडिसनदेखि हालसम्म कसलाई अगाडि बढाउने भन्ने अधिकार कोचलाई थियो । तर, अब भने नितान्त दर्शकको भोटका आधारमा प्रतिस्पर्धी अगाडि बढ्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धाको फाइनल भिडन्तमा टिम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली, रवि गहत राज र टिम दीपबाट आर्यन तामाङ, गोभिन पुन, जेनिस राई छानिनु भएको छ । यस्तै टिम राजुबाट विजय ठाडामगर, सोनाम शेर्पा, तारा श्रीष र टिम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई, कर्णराज गिरी छानिएका छन् । चारवटै टिमका एक–एकजना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने र एकजना विजेता छानिने प्रतियोगिताको प्रायोजक ओपो छ ।