रामोस पीएसजीसँग अनुबन्धित हुँदै।

एजेन्सी := रियल म्याड्रिडका पूर्वकप्तान सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुग्नुभएको छ । पीएसजीले ३५ वर्षीय सेन्टरब्याक रामोसलाई दुई वर्षका लागि सम्झौता गर्न लागेको हो । उहाँलाई वार्षिक १० मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको समाचारहरूमा जनाइएको छ ।

उहाँको यसै साता मेडिकलसँगै क्लबमा सार्वजनिक गर्ने पीएसजीले योजना बनाएको छ । थियागो सिल्भाको प्रस्थानपछि केही कमजोर बनेको पीएसजीको डिफेन्स रामोसको आगमनले मजबुत हुने अपेक्षा गरिएको छ ।

रामोसले अघिल्लो महिना रियल म्याड्रिड छोड्नुभएको थियो । डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छोड्नुभएको हो । रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाउनुभएका उहाँले क्लबका ६७१ खेल खेल्नुभएको छ । रियलका लागि १०१ गोल गर्नुभएका रामोसले ४० असिस्ट गर्नुभएको छ ।

रियलबाट उहाँले पाँचपटक ला लिगा र चारपटक च्याम्पियन्स लिगको उपाधि जित्नुभएको छ । फिफा क्लब, विश्वकप र स्पेनिस सुपर कप चार÷चार पटक जित्दा यूईएफए सुपर कप तीनपटक जित्नुभएको छ ।