मुम्बई := आमिर खान र किरण रावले शनिबार १५ वर्ष लामो सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । आमिर र किरण अहिले पनि एउटै सिनेमामा काम गरिरहेका छन् । उनीहरू भने लद्दाखमा ‘लालसिंह चढ्ढा’को सुटिङ गरिरहेका छन् ।
आमिर यो फिल्ममा अभिनय गरिरहेका छन् भने किरण यो फिल्मकी कार्यकारी निर्माता हुन् । अप्रत्यासित रुपमा सम्बन्ध विच्छेद भए लगत्तै यसको कारणको खोजी सुरु भएको छ सामाजिक सञ्जालमा ।
धेरैले आमिर र किरणको सम्बन्ध बिग्रनुको मुख्य कारण ‘दंगल’ अभिनेत्री फातिमा खना सेखको हात रहेको अभियोग लगाएका छन् । फातिमासँग विवाह गर्नलाई नै किरण रावसँग सम्बन्ध विच्छेद गरेको बताएका छन् ।
‘दंगल’मा सँगै काम गरेका फातिमा र आमिरको निकटताको चर्चा पहिला पनि चल्ने गरेको थियो । आमिरकै सिफारिसमा फातिमाले ‘ठग्स अफ हिन्दुस्तान’मा काम गरेकी थिइन् ।आमिर खानको यो दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।
आमिर र किरणको पहिलो भेट चलचित्र ‘लगान’को सेटमा भएको थियो । किरण लगान चलचित्रका सहायक निर्देशक थिइन् । केही समयसँगै बिताएपछि सन् २००५ को डिसेम्बरमा दुबैजनाले सम्बन्धलाई औपचारिक दिएका थिए । सन् २०११ मा किरण र आमीर को सन्तान आजादको जन्म भएको थियो ।रीना दत्त र आमीरको एक छोरी इरा र छोरा जुनैद छन् ।




















