चार खेलाडीलाई उपचार खर्च हस्तान्तरण।

काठमाडौं := राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न चार खेलका त्यत्ति नै खेलाडीलाई सहयोगस्वरूप सोमबार उपचार खर्च उपलब्ध गराएको छ । चार खेलाडीलाई दुई लाख नौ हजार ६५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहनुभएका कोषका सदस्य-सचिव दीपक श्रेष्ठले जानकारी गराउनुभयो । ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार प्रदान गरियो ।

जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ उपलब्ध गराइयो । सुदूरपश्चिम प्रदेशमा रहनुभएकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । खेलाडी संघका उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

चालु आर्थिक वर्षमा कोषले यी चार खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चबापत जम्मा ११ लाख ३४ हजार ६५५ रुपैयाँ वितरण गरिसकेको छ । यसअघि विभिन्न पाँच खेलका खेलाडी र पूर्वखेलाडी गरी नौजनालाई नौ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।

२०६८ सालमा एक करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा एक करोड ४० लाख रुपैयाँ रहेको सदस्य–सचिव श्रेष्ठले जानकारी दिनुभयो । त्यसैको व्याजबाट मर्कामा परेका खेलाडीलाई सहयोग गरिँदै आएको छ ।