एजेन्सी := भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा पुस्कर सिंह धामी नियुक्त हुनुभएको छ । भारतीय जनता पार्टीले शनिबार धामीलाई नयाँ मुख्यमन्त्री घोषणा गरेको हो । यसअघि शुक्रबार मुख्यमन्त्री तिरथ सिंह रावतले राजीनामा दिएपछि धामी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
धामी उत्तराखण्डको खटिमा क्षेत्रबाट निर्वाचन हुनुभएको हो । उहाँलाई केन्द्रीय कृषि मन्त्री नरेन्द्रसिंह तमोरको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको थियो । ‘मेरो पार्टीले एक साधरण कार्यकर्तालाई आज जनताको सेवा गर्नका लागि चयन गरेको छ । जनताको सेवाका लागि सम्पूर्ण चुनौतीहरूको सामना गर्नेछु’, नवनियुक्त मुख्यमन्त्री धामीले भन्नुभएको छ ।
पूर्वसैन्य अधिकारीसमेत रहनुभएका धामी पिथौरागढमा जन्मिनु भएको हो । उत्तराखण्डमा पछिल्लो चार महिनामा तेस्रो मुख्यमन्त्रीका रूपमा धामी आउनुभएको हो । यसअघि रावतले मार्च १० मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको थियो । उहाँले शुक्रबार राजीनामा दिनुभएको थियो ।
कुम्भ मेलाका क्रममा आरटी पिसिआर परीक्षणमा लापरबाही गरेको भन्दै रावत विवादित बन्नुभएको थियो । यसअघि मार्चमा त्रिवेन्द्रसिंह रावतले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि तिरथसिंह रावतलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
बिजेपीले तिरथ सिंह रावतको अनुहारको सहारामा फेरि उत्तराखण्डमा निर्वाचन जित्ने सम्भव नदेखिएकाले धामीलाई अघि सारेको भनिएको छ । भारतीय राष्ट्रिय कांग्रेसले भने बिजेपीले उत्तराखण्डमा ‘खेलौना’ जसरी मुख्यमन्त्री परिवर्तन गरिरहेको आरोप लगाएको छ ।
नवनियुक्त मुख्यमन्त्री धामी निकै कम उमेरको हुनुहुन्छ । उहाँ राज्यका सबैभन्दा कम उमेरका मुख्यमन्त्री हुनुभएको छ । उहाँ ४५ वर्षको हुनुहुन्छ । दुई पटक विधायकको चुनाव जित्न सफल धामी अहिलेसम्म उत्तराखण्ड सरकारमा मन्त्री पनि हुनुभएको थिएनन् तर उहाँ सिधै मुख्यमन्त्री बन्नुभएको छ । बहुमत भएर पनि लगातार अस्थिरताको सामना गरिरहेको उत्तराखण्ड राज्यमा भाजपा सरकारले शनिबार फेरि नयाँ मुख्यमन्त्री चयन गरेको हो । धामीले उत्तराखण्डको ११औं मुख्यमन्त्रीका रूपमा आइतबार शपथ ग्रहण गर्नुभएको छ ।
धामीको मन्त्रीमण्डलमा बिजेपीका विधायक सतपाल महाराज, हरक सिंह रावत, बंसीधर भगत, यशपाल आर्या, बिशन सिंह चौपाल, सुबोध उनियाल, धनसिंह रावत, अरविन्द पाण्डे, गणेश जोशी, रेखा आर्या र स्वामी यतिश्वरानंद सामेल हुनुहुन्छ ।

















