ओलम्पिकमा सहभागिताका लागि शाह जापान प्रस्थान।

काठमाडौं := जापानमा अर्को महिना आयोजना हुने टोकियो ओलम्पिकमा भाग लिनेमध्येका एक पौडीका एलेक्जेन्डर (एजेल्स) शाह र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गर्नुभएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलेक्स र कार्कीलाई आइतबार बिदाइसमेत गरेको छ । जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा तयारी गर्ने एनओसीले जनाएको छ । पौडीकी अर्की खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) की चार स्वर्णपदक विजेता गौरिका सिंह बेलायतबाट जापान जाने बताइएको छ ।

साउन ८ देखि २४ गतेसम्म हुने टोकियो ओलम्पिकमा गौरिका र एलेक्ससहित पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि केही दिनमा जापान जाँदै हुनुहुन्छ ।