कोरोना माहामारीले इण्डोनेसियामा अक्सिजन अभाव।

एजेन्सी := कोरोना भाइरस (कोभिड-१९)को महामारीमा फसेको इण्डोनेसियामा अक्सिजन अभाव हुन थालेको छ । कोरोनोको डेल्टा भेरिएन्ट तीव्र गतिमा फैलिएपछि अस्पतालमा बिरामीहरूको चाप बढेसँगै अक्सिजन अभाव हुन थालेको हो ।

अक्सिजन अभाव हुन थालेपछि सरकारले अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ । इण्डोनेसियामा दैनिक २५ हजारको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् भने पछिल्लो समय मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । कोरोना नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनपछि पनि संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको छ ।

यसैबीच इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देश कोरोना महामारीको थप चपेटामा परेको भन्दै संक्रमितको संख्या दैनिक १० हजारमा नझरेसम्म लकडाउन लम्बिने संकेत गर्नुभएको छ । लकडाउन अवधिभर नागरिकलाई विदेश भ्रमणमा रोक लगाइएको छ भने अत्यावश्क सामग्रीका पसलबाहेक अन्य बजार क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । दक्षिण–पूर्वी एसियालाी मुलुकहरूमा इण्डोनेसिया सबैभन्दा बढी कोरोनाको मारमा परेको छ ।