कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्छ: नेतृ सुजाता कोइराला।

Sujata Koirala has declared her candidacy for the post of Nepali Congress (NC) President on Wednesday, March 02, 2016. Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौं := नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तक्रियामा उनले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन्।

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताइन्। वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताए। पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो। प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताए।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दुई तिहाइ बहुमतसाथ स्थापना भएको वर्तमान सरकारले जनताको संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताए। केन्द्रीय सदस्य सीता गुरुङले श्रमिकसँग कांग्रेसलाई जोड्न सकेमात्र पार्टी र लोकतन्त्र बलियो हुने बताइन्। ट्रेड युनियनका पुस्कर आचार्यले कांग्रेसले श्रमिक पक्षीय नीति निर्माण गरी वडा तहदेखि केन्द्रसम्म श्रमिक प्रतिनिधित्व गर्नुपर्ने बताए।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष अजयकुमार राई, केन्द्रीय सदस्य बलदेव तामाङ, प्रदेश २ का अध्यक्ष लक्ष्मण कुर्मीलगायतले श्रमजीवीको मुद्दा  र उपस्थिति गराउने विषयमा कांग्रेस नेतृत्व उदासीन रहेको बताएका थिए। रासस