काठमाडौं:= प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ।
रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र पठाएको हो।
यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए । यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहित रुपाले जाहेरी दिनुभएको थियो।
तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसक्नुभएको छ। रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिनुभएको थियो।




















