‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मंगलबार १८औं राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विभाग तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा संयुक्तरूपमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले प्रमुख खाद्यान्न बाली धानमा आत्मनिर्भर हुन सकेमात्रै समृद्धि प्राप्त हुने बताउनुभयो। देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धानबाली भएकाले धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ । धानको उत्पादकत्व बढाउन आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि सरकार नीतिगत सुधार गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धानबालीको महत्वपूर्ण योगदान रहेको छ, यो नेपालको धर्म तथा सस्कृतिसँग पनि जोडिएको छ, मानिसको जन्मदेखि मृत्युपर्यन्त धान नभइहुँदैन ।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन गर्न सफल भएको भन्दै यस वर्ष पनि मौसमले साथ दिएको, रासायनिक मल र बीउसमेत उपलब्ध रहेकाले उत्पादन बढेर ६० लाख मेट्रिकटनसम्म पुग्ने दाबी गर्नुभयो । खाद्यान्न बालीको उत्पादन तथा उत्पादकत्व बढाउन सरकारले प्राविधिक, प्रविधि, यान्त्रिकीकरण र अध्ययन, अनुसन्धानमा जोड दिने बताउनुभयो । उत्पादन र उत्पादकत्व वृद्धिका लागि रासायनिक मलको विकल्प नरहेकाले सरकारले रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया सुरु गरेको उहाँको भनाइ थियो । धानको अध्ययन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरमा धान अनुसन्धान गर्ने संस्था आईआरआईसँग पाँचवर्षे सम्झौता गरिएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगाल, कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डित, नार्कका वैज्ञानिक रामबहादुर केसीलगायतले खाद्य सुरक्षामा धानको योगदानबारे चर्चा गर्नुभएको थियो ।
त्यसो त हरेक वर्ष धान दिवस मनाइने गरे पनि दिवसहरू औपचारिकतामै सीमित हुने गरेका छन् । जसका कारण वार्षिकरूपमा अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ । नार्कका वैज्ञानिक रामबहादुर केसीका अनुसार मनाङ र मुस्ताङबाहेक नेपालमा ७५ जिल्लामा धानखेती गरिन्छ तर उत्पादकत्व बढ्न नसकेका कारण चामल आयात बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको ११ महिनामा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको छ । चामल, धान र कनिका गरी ११ महिनामा कुल ४६ अर्ब २९ करोडको चामल आयात भएको छ । जुन अघिल्ला वर्षको तुलनामा सात अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको आयात भएको थियो । धानमा आत्मनिर्भर हुन नेपाललाई करिब १० लाख टन धान अपुग रहेको सरकारको दाबी छ । हाल ५६ लाख टन धान उत्पादन हुने गरेको छ ।
उत्पादन तथा खपत ९० प्रतिशत एसियामा हुने गरेको छ । चीन, भारत, इण्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक मुलुक हुन् । नेपाल भने १७औं स्थानमा रहेको छ । करिब ५० वर्षअघि प्रतिवर्ष प्रतिव्यक्ति ८२ केजी चामल खपत हुने गरेकोमा हाल प्रतिव्यक्ति प्रतिवर्ष एक सय ३८ केजी खपत रहेको छ । नेपालमा मोटा धानखेती हुने गरेका कारण पनि चामल आयात बढेको अधिकारीहरूले बताउने गरेका छन् । त्यसैगरी सडक सञ्जालको विस्तार र नेपालीहरूको क्रयशक्ति बढेका कारण पनि चामलको खपत बढेको बताइन्छ । विज्ञका अनुसार सन् २०३० सम्म ७५ लाख टन धान आवश्यक पर्नेछ भने २०५० सम्ममा भने एक करोड टन आवश्यक पर्नेछ । उक्त माग आपूर्तिका लागि धान उत्पादन ८० प्रतिशतले बढाउनुपर्ने चुनौती रहेको छ । हाल धानको उत्पादकत्व ३.८१ केजीमात्रै रहेको छ ।
२७ प्रतिशत रोपाइँ
असार दोस्रो सातासम्म २७ प्रतिशत रोपाइँ भएको छ । कृषि विभागका अनुसार हालसम्म १३ लाख ७१ हजार सात सय छ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा १०.५५ प्रतिशत, सुदूरपश्चिममा ४८.३१, लुम्बिनी प्रदेशमा ४५.९४, वागमतीमा २१.०७, प्रदेश १ मा १७.९९ र गण्डकी प्रदेशमा १५.३४ रोपाइँ सम्पन्न भएको छ । उच्च पहाडमा ३३.४८ प्रतिशत, मध्य पहाडमा ३०.९५ प्रतिशत र तराईमा २५.४५ क्षेत्रमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ३५.४८ प्रतिशत रोपाइँ भएको थियो । मौसमको अनुकूलताका कारण यस वर्ष समयमै रोपाइँ सुरु भएको विभागले जनाएको छ । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धानको खेती हुने गरेको छ भने कुल क्षेत्रफलको ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ ।




















