काठमाडौं := गायक तथा संगीतकार माणिकरत्न स्थापितलाई १ लाख १ सय ११ रुपैयाँ नगदसहित ‘अजर अमर सम्मान २०७८’ बाट सम्मान गरिएको छ । संगीतकार संघ नेपालले उहाँलाई सम्मान गरेको हो । सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा गई रकम हस्तान्तरण गरेको हो ।
विसं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिनु भएका उहाँले २००७ सालमा बाल गीतमा स्वर भरेर औपचारिक गायन यात्रा सुरु गर्नु भएको थियो । उहाँका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हूँ’, ‘न आउ जुन कोठामा राति’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् ।
२०१३ सालदेखि माणिकरत्नले प्रेमध्वज प्रधानसँग मिलेर थुप्रै गीतमा सहकार्य गरेका थिए। ‘प्रेम माणिक’ नामले कैयौं कालजयी संगीत सिर्जना गर्नुभएको थियो । जसमध्ये उहाँहरुको जोडीको सहकार्य रहेको गीत हो ‘गोरेटो त्यो गाउँको’ गीतमा संगीत माणिकरत्नको हो भने स्वर प्रेमध्वजको थियो । संगीतकार संघले महामारीका कारण सार्वजनिक कार्यक्रम नगरी घरमै गई सम्मान र नगद हस्तान्तरण गरेको जनाएको छ ।




















