काठमाडौं := कोरोना भाइरसको महामारीबीच विभिन्न सामाजिक कार्यमा सक्रिए रहनुभएका अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मान गरिएको छ । ‘रजतपट कोशेली अभियान’बाट पललाई कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेको भन्दै सम्मान गरिएको हो ।
कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीलाई राहत सहयोग गर्न ‘रजतपट कोशेली अभियान’ सुरु भएको थियो । जुन टेलिभिजन कार्यक्रम ‘रजतपट’ का सञ्चालक प्रकाश सुवेदीले सुरु गर्नुभएको हो ।
पललाई सम्मान प्रदानका लागि सोमबार काठमाडांैमा कार्यक्रमको आयोजना गरिएको थियो तर पल काठमाडौंबाहिर भएकाले पुनः मंगलबार कार्यक्रमको आयोजना गरेर पलकै उपस्थितिमा सम्मान गरिएको हो । सम्मानपछि पलले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताउनुभयो ।
आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उहाको भनाइ थियो । सम्मान पाउँदा भावुक भएको बताउँदै उहाँले सम्मान पाउन आफूले सामाजिक काम नगरेको बताउनुभयो । अरूलाई देखाउनकै लागि सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै हालेको भन्नेलाई पलले जवाफ दिनुभएको छ ।
पलले भन्नुभएको छ, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउन हालेको होइन । अरूलाई इन्स्पायर्ड गर्न हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्न हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उहाँले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताउनु भएको छ ।
सोही अभियानबाट बिरामी पर्नुभएकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग गरिएको छ । सो सहयोग नेपाल र नेपालबाहिर रहेका विभिन्न कलाकर्मीको पहलमा जुटेको थियो । निशालाई निःशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझ्नुभएको थियो ।
दाहालले नै निशाको अवस्था मेघासम्म पु¥याई उपचारको पहल गर्नुभएको थियो । टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म चार सय बढी कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीलाई सहयोग गरिएको थियो ।




















