काठमाडौं := काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो भएको छ। निषेधाज्ञा केही खुकुलो बनाउँदै उपत्यकामा मंगलबार (आज)देखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चलाउन दिइने भएको हो । निजी सवारीसाधनसमेत जोरबिजोरमा अघिल्लो सातादेखि सञ्चालनमा आएको थियो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको हो । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा केही खुकुलो थप्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।
व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउन दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बैठकले काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप्ने निर्णय पनि गरेको छ । लामो दूरीका सवारीसाधन भने चलाउन पाइने छैन । सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइनेछ । काठमाडौं उपत्यकामा वैैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
यी क्रियाकलापमा अझै रोक
उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाइए पनि अझै केही क्रियाकलापमा रोक लगाइएको छ । उपत्यकामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ । यस्तै, खुल्ला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज–भतेरलगायत गर्न–गराउन नपाइने, विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । यससँगै पूजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि पनि गर्न पाइने छैन ।
यस्तै, विद्यालय, कलेज, विश्वविद्यालय पनि खोल्न पाइने छैन भने शैक्षिक संस्थाले भौतिक उपस्थितिमा परीक्षा पनि लिन पाउने छैनन् ।
डिपार्टमेन्ट स्टोर, शपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, सुनचाँदी पसल, भाँडा, विद्युतीय घरायसी सामग्री पसल, निर्माण सामग्रीका पसल भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ । उपभोग्य सामानको होम डेलिभरी, रेष्टुरेण्ट एवं फाष्टफुड तथा अन्य अर्डर ‘टेक अवे’ सेवा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
थप ४२ जना कोरोना संक्रमितको मृत्यु, २४ सय ४४ मा संक्रमण
सोमबार थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोमबार थप दुई हजार ४४४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा दुई हजार ४४४ जनामा कोराना पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५०९ र चार हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएको हो । सोमबार थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा ५१४ जना रहेका छन् । काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, थप तीन हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ८८ हजार १८७ पुगेको छ । नेपाल संक्रमित निको हुने दर ९२ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।




















